गाँस , वास र कपास ( गद्य कविता )

गाँस के हो ? क्वारेन्टाइनमा बसेकालाई सोध
वास के हो ? आइसोलेसनमा बसेकालाई सोध
कपास के हो ? झुत्रो कपडा लाउनेलाई सोध ।
आफ्नो औकात भुलिसकेको मानिसलाई
कोभिड १९ ले औकात सम्झाइदियो
आफ्नो गाउँ बिर्सेर सहरमा हराएको मानिसलाई
कोभिडले औकात ब्युँझाइदियो
गाउँको गुन्द्रुक र ढिँडो बिर्सेर बर्गर , पिजा र म:ममा
रमाएको मानिसलाई
गुन्द्रुक ,ढिंडो र बाबर सम्झाइदियो ।
ती बूढीआमाले हाँडीमा भुटेको मकै सम्झाइदियो
ती करेसाबारीमा फलेको मुलाको साग चिनाइदियो
गाँस , वास र कपास भुलेको मानिसलाई
परमाणुजत्रो भाइरसले जिउँदै जलाइदियो ।
धन्य रहेछौ कोभिड१९ तिमी
सलाम गर्छु म तिमीलाई ।
२०७२ सालको महाभूकम्पले
साइजमा ल्याउन खोजेको थियो तर सकेन
२०७६ / ७७ को कोभिड १९ ले
अहङ्कारी मानिसलाई साइजमा ल्याउँदै छ ।
गाँस , वास र कपास भुलेको मानिसलाई
आफ्नो गाउँ चिनाउँदै छ त्यसैले, गाँस के हो ? क्वारेन्टाइनमा बसेकालाई सोध
वास के हो ? आइसोलेसनमा बसेकालाई सोध
कपास के हो ? झुत्रो कपडा लाउनेलाई सोध ।
धन्य कोरोना ! धन्य ! !
तिमीले गाउँ चिनायौ ,
प्रदेशमा भएकालाई तिमीले देश चिनायौ
आफन्त चिनायौ
तिमीले छिमेकी चिनायौ ,
तिमीले माटो चिनायौ । तिमीले बाटो चिनायौ
तिमीले सबै चिनायौ। सबैभन्दा बढी औकात चिनायौ ।
सिर्जनाकार लक्ष्मीप्रसाद ढकाल
दर्शनाचार्य अध्ययनरत
त्रिभुवन विश्वविद्यालय , कीर्तिपुर ।
स्थायी ठेगाना : कमल गाउँपालिका ,२ झापा ।