१४ महिनापछि माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत आयोजनामा फेरि काम सुरु
काठमाडौं । कोभिड–१९ को महामारीले काम रोकिएको ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत आयोजनाको काम पुनःसुरु भएको छ । करिब १४ महिनापछि आयोजनामा फेरि काम सुरु भएको हो ।
नयाँ वर्ष मनाउन २०७६ माघको दोस्रो साता आफ्नो घर गएका चिनियाँ कामदारहरु कोभिड–१९ का कारण फर्कन सकेका थिएनन् । चीनबाट उपकरण तथा सामग्री ल्याउन नसक्दा पूर्ण रुपमा काम भइरहेको आयोजनाको निर्माण करिब ठप्पप्रायः थियो ।
ठेकदार चिनियाँ कम्पनी सिचुआन एएनएचई हाइड्रोइलेक्ट्रिक इक्जिनियरिङले अहिले मुख्य सुरुङ, विद्युत गृहलगायतका संरचना निर्माणको कार्य गरिरहेको आयोजनाको प्रबर्द्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडका प्रबन्ध–सञ्चालक मोहनप्रसाद गौतमले बताए । अहिले निर्माणमा ६४ जना चिनियाँ र ८१ जना नेपाली श्रमिकहरु खटिएका छन् ।
‘नयाँ वर्ष मनाउन २०७६को माघमा आफ्नो देश गएका ठेकेदार कम्पनीका कर्मचारीहरु कोभिड–१९ का कारण फर्कन नसक्दा करिब १४ महिना निर्माण ठप्प भएको आयोजनाको निर्माण निरन्तरको प्रयासपछि सुरु भएको छ’, उनले भने ।
चीनसँगका भन्सार नाकाहरु अझै पूर्ण रुपमा नखुल्दा ठेकेदार कम्पनीले चीनमा खरिद गरिसकेका तथा खरिद आदेश दिई उत्पादन र प्याकेजिङको चरणमा रहेका निर्माण उपकरण तथा सामग्रीहरु ढुवानी गरी निर्माणस्थलसम्म ल्याउन नसकिरहेको उनले बताए ।
यसबाट धेरै प्रयास गरी पुनः आयोजनाको काम प्रभावित हुने जोखिम छ । चीनबाट उपकरण आयातका विषयमा ऊर्जा, जलस्रोत तथा सिंचाइ, अर्थ मन्त्रालयलगायतका निकायसँग आवश्यक समन्वय भइरहेको गौतमले उल्लेख गरे ।