भारतमा रहेका नेपालीलाई घर फर्कन समस्या हुँदैन : मन्त्री ज्ञवाली

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोना महामारी नियन्त्रणका लागि सरकारले भारतसँग जोडिएका २२ वटा नाका बन्द गरेपनि स्थलमार्गबाट घर फर्कन चाहने नेपालीलाई कुनै पनि समस्या नहुने वताउनुभएको छ ।
२२ वटा नाका बन्द गर्ने सरकारको निर्णयले स्वदेश फर्किन समस्या हुने हो कि भनेर सामाजिक सन्जालमा चासो व्यक्त गरिएपछि मन्त्री ज्ञवालीले सबै नाका बन्द नगरेकाले समस्या नहुने जानकारी ट्वीट मार्फत दिनुभएको हो । उहाँले भन्नुभएको छ, ‘१३ वटा नाका खुला रहने छन् । घर फर्कन चाहने नेपाली नागरिकले यी रुटहरु प्रयोग गर्न सक्छन् ।’
कोरोना संक्रमणको फैलावट रोक्ने उद्देश्यले सरकारले भारतसँग जोडिएका २२ नाका बन्द गर्ने निर्णय गरेको छ । साथै सीसीएमसीले हवाई सेवासमेत बन्द गर्न सरकारसमक्ष सिफारिस गरेको छ ।
भारतका विभिन्न राज्यमा लकडाउन हुन थालेपछि नेपालीहरु रोजगारीका लागि गएका नेपालीहरु धमाधम घर फर्किएका छन् । केही नेपालीहरु भारतमा अलपत्र समेत परेका छन् । अलपत्रमा परेकालाई आफ्नो सम्पर्कमा आउन आह्वान गर्दै नयाँदिल्लीस्थित नेपाली दूतावासले सार्वजनिक सूचना जारी गरेको छ ।