मुख्यमन्त्री पाेखरेलको राजीनामा, नेकपा एमालेकाे एकल बहुमतकाे सरकार बनाइने

२०७८ बैशाख १९ गते, आईतवार

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन्। उनीविरुद्ध नेपाली कांग्रेस, नेकपा ( माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए। उनीविरुद्धको अविश्वास प्रस्ताव आज प्रदेश सभामा पेश हुन लागेको छ। उनले प्रदेश सभाको बैठक बस्नु अघि नै राजीनामा दिएका हुन्।

विपक्षी दलले ६ वैशाखमा अविश्वास प्रस्ताव दर्ता गरेपछि मुख्यमन्त्री पोखरेलले जनता समाजवादी पार्टीका चार जना सांसदलाई मन्त्री नियुक्त गरेका थिए। मन्त्री नियुक्त भएका चारै सांसदलाई जसपाले कारबाही गरेको छ । उनले प्रदेश सभाको बैठक बस्नुअघि नै राजीनामा दिएका हुन्। प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्न लागेको छ।

दाङ २ (क) बाट निर्वाचित पोखरेल ३ फागुन, २०७४ मुख्यमन्त्री बनेका थिए। सातै प्रदेशका सरकारमा खिचातानी चलिरहेको भए पनि सबैभन्दा पहिले मुख्यमन्त्री पोखरेलको सरकार ढलेको छ। लुम्बिनी प्रदेश सभा ८७ सदस्यीय छ। २०७४ को निर्वाचनबाट नेकपा (एमाले) का ४१, माओवादीका २०, कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक सांसद निर्वाचित भएका थिए। एमालेमा प्रवेश गरेका दुई सांसदलाई माओवादीले कारबाही गरिसकेको छ। उनीहरूको सांसद पद खारेज भइसकेको छ। त्यस्तै, मुख्यमन्त्री पोखरेलले मन्त्री बनाएका चार सांसदलाई पनि कारबाही गरेको छ। उनीहरूको पनि सांसद पद खारेज भइसकेको छ। अहिले प्रदेश सभामा ८० सदस्य छन्। सरकार बनाउने बहुमतका लागि ४१ सदस्य चाहिन्छन्। नेकपा एमालेकाे एकल सरकार बनाउन मुख्यमन्त्री पाेखरेलले राजीनामा दिएको प्रमुख सचेतक भुमिश्वर ढकाल ले बताए । 

प्रदेश सभामा एमालेका ४१, माओवादीका १७ (सभामुखबाहेक), कांग्रेसका १९, जसपाका दुई र जनमोर्चाका एक सांसद छन्। जनमोर्चाले पनि अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो। जसले गर्दा अविश्वास प्रस्तावको पक्षमा कांग्रेस, माओवादी, जसपा र जनमोर्चाका गरी ३९ सांसद देखिएका थिए।

1299 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal