यस वर्षकै काठमाण्डौमा न्यूनतम तापक्रम २ दशमलव ६ डिग्री मापन
काठमाण्डौ । काठमाण्डौमा आज यो वर्षकै कम न्यूनतम तापक्रम मापन गरिएको छ । आज बिहान न्यूनतम तापक्रम २ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको हो । अस्ति बिहीवार यो वर्षकै कम न्यूनतम तापक्रम ३ दशमलव २ डिग्री सेल्सियस मापन गरिएकोमा आज ० दशमलव ६ डिग्री तापक्रम घटेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।
उहाँका अनुसार देशका अरु ठाउँमा पनि आज न्यूनतम तापक्रम घटेको छ । काठमाण्डौसहित देशका धेरै ठाउँमा लगातार चिसो बढ्दै गएको छ । तराईका जिल्लामा पनि तापक्रम घटिरहेको छ ।
तराईमा हुस्सुका कारण जनजीवन प्रभावित बनेको छ । आज पहाडी र हिमाली क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली हुने र उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपातको सम्भावना छ।