चिया निर्यात सुरु भए पनि मूल्यमा ५० प्रतिशतले गिरावट

२०७८ पुष ३ गते, शनिबार

काठमाण्डौ । चिया निर्यात सुरु भए पनि मूल्यमा गिरावट आएको चिया उद्योगीले गुनासो गरेका छन् । नेपालको चिया निर्यातमा केही अगाडि समस्या रहेकोमा अहिले समाधान भइसकेको तर उचित मूल्य नपाएको उद्योगीले गुनासो गरेका छन् ।

नेपालको चिया कम गुणस्तरको भएको भन्दै भारतले मंसिर पहिलो हप्तादेखि दोस्रो हप्तासम्म निर्यातमा रोक लगाएको थियो । तर निर्यातको समस्या समाधान भएको तर गएको वर्षको तुलनामा यो वर्ष ५० प्रतिशतले चियाको मूल्य कम भएको हिमालय सांग्रिला इलामका कमल मैनालीले बताउनुभयो । उहाँका अनुसार गएको वर्ष प्रतिकिलो दुई सय ४० देखि एक हजार ६ सय रुपैँयासम्म बिक्री भएको चिया यो वर्ष भने एक सय २० देखि आठ सय रुपैँयासम्ममा विक्री गर्नुपर्ने बाध्यता छ ।
नेपालका चिया उद्योगले सात प्रकारका चिया उत्पादन गर्छन् । यसरी चियाको मूल्य घट्दा किसानले हरियो पत्तीको उचित मूल्य नपाउने अर्का उद्योगी गोर्खा टी स्टेडका उदय चापागाईँले बताउनुभयो । उहाँका अनुसार प्रशोधित चियाको मूल्य घट्दा यसको प्रत्यक्ष असर हरियो पत्तीमा पर्छ ।

मूल्यमा गिरावट आएकै कारण किसानले यो वर्ष हरियो चियापत्तीको मूल्य प्रतिकिलो १५ रुपैयाँ मात्रै पाएको उद्योगी चापागाईँले जानकारी दिनुभयो । गएको वर्ष भने किसानले हरियो चियापत्तीको मूल्य प्रतिकिलो २५ रुपैँयासम्म पाएका थिए ।

चियाको मूल्यमा गिरावट आउँदा किसानको लगानी नउठ्ने, व्यवसायबाट पलायन हुनुपर्ने समस्या छ । चियाको मूल्य कम पाएकाले लगानी नउठेको गुनासो कार्यालयमा नआएको चिया तथा कफी विकास बोर्ड फिक्कलका कार्यकारी निर्देशक डा। विष्णुकुमार भट्टराईले बताउनुभएको छ ।

197 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal