बार आन्दोलनमा राजनीतिक दलका नेताको ध्यानाकर्षण भइसक्यो, चाँडै निष्कर्ष आउला: अध्यक्ष श्रेष्ठ

२०७८ पुष ८ गते, बिहीबार

काठमाण्डाै ।  नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लाग्नसक्ने संकेत गरेका छन्।

बिहीवार सर्वोच्च अदालतमा बार एसोसिएसनको नियमित विरोधको कार्यक्रम सकिएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदैँ अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराको बर्हिगमनका लागि बारले राखेको प्रस्तावमा राजनीतिक दलका नेताहरुको ध्यानाकर्षण भएको संकेत पाएको बताए।

‘न्यायपालिकाको गरिमा कायम राख्न, न्यायपालिका निष्पक्ष, स्वच्छ, स्वतन्त्र बनाउनको लागि सरकारदेखि लिएर प्रतिपक्ष सम्मले विशेष पहल, भूमिका निर्वाह गर्नुपर्दछ भन्ने हामीले आवाज उठाउँदै आएका छौं’, उनले भने, ‘यसतर्फ अहिले दलका नेताज्यूले ध्यान दिएको हो कि भन्ने संकेत हामीले पाएका छौं।’

उनले प्रधानन्यायाधीशले चाहेजस्तै गरी संसदमा प्रधानन्यायाधीशको बर्हिगमनको सम्बन्धमा छिट्टै छलफल हुने र निष्कर्ष निस्कने बताए। ‘चोलेन्द्र शमशेरको आगमन अदालतमा जति दिन हुन्छ त्यति दिनसम्म नै न्यायपालिकाको आस्था तल जादै गर्छ। न्यायपालिकाको आस्था कायम राख्नका लागि, सेवाग्राहीहरुलाई न्याय किनबेच गर्नु नपर्ने सर्वसुलभ, निष्पक्ष न्याय, स्वच्छ न्याय दिलाउनको लागि हामी बार एसोसिएसन वाचडगको रूपमा रहेका छौ’, उनले भने, ‘उहाँले चाहे अनुसारको बर्हिगमन गराउने एउटा अर्को बाटो छ संसद। त्यो संसदको थलोमा अहिले हाउस चलिराखेको हुनाले त्यहाँ छलफल हुने नै छ, छिट्टै छलफल हुन्छ । त्यहाँबाट एउटा निष्कर्ष निस्कन्छ।’

अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराको राजीनामा नआउञ्जेलसम्म बार एसोसिएसनले गरेको विरोधको कार्यक्रम जारी रहने पनि बताए।

149 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal