प्रहरीकै मोटरसाइकल लिएर फरार कैदी काण्ड: प्रहरी जवानलाई नै हिरासतमा राखेर अनुसन्धान सुरु

२०७८ पुष १० गते, शनिबार

दाङ । दाङको घोराहीमा रहेको घोराही कारागारबाट कैदी भागेको विषय जटिलतातर्फ गएको छ । बिहीबार दिउँसो हराएका कैदी शुक्रबार बेलुकासम्म पनि नभेटिएपछि अनुसन्धानका लागि ड्युटीमा खटिएका प्रहरी र कारागार प्रशासन केन्द्रित गरिएको छ । उपचारका लागि अस्पताल लगिएका कैदी प्रहरीकै मोटरसाइकल लिएर फरार भएपछि घटना प्रहरीको मिलेमतो भएको आशंका गरिएको छ ।

कारागारबाट उपचारका लागि अस्पताल लगेको अवस्थामा भागेका राजपुर गाउँपालिका-३ घर भएका २९ वर्षिय यमराज परियारको खोजी गर्नका लागि दाङ प्रहरीले डिएसपीको कमाण्डमा प्रहरी परिचालन गरेको जनाएको छ । अब उनको खोजी र अनुसन्धान डिएसपी नेतृत्वको टोलीले गर्नेछ ।

कर्तव्य ज्यान मुुद्धामा २० वर्ष कैद तोकिएका राजपुर गाउँपालिका-३ घर भएका २९ वर्षिय परियार कारागारका बन्दी नाइके पनि हुन । छालाको उपचार गर्न राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा लगिएको भनिएका परियार त्यहीँबाट भागेको प्रहरीको भनाई रहेको छ । उनी आफूलाई अस्पताल पुर्याएको प्रहरीकै मोटरसाईकल लिएर भागेका हुन् ।

परियारलाई उपचार गर्न लगेका प्रहरी जवान धनबहादुर चौधरीको लु ३१ प ४१० नम्बरको १५० सिसिको निलो कालो पल्सर मोटरसाईल सहित अस्पतालबाट भागेपछि उनको खोजीमा डिएसपी मुकुन्दप्रसाद रिजालको कमाण्डमा प्रहरी परिचालन भएको प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए।

विभिन्न व्यक्तिहरुको मिलेमतोमै कैदी परियार भगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा पाइएको छ । परियारलाई भगाउने उद्धेश्य अनुसार नै धेरै व्यक्तिहरुको घटनामा संलग्नता रहेकोे प्रारम्भिक अनुसन्धानले देखाएको एसपी काफ्लेले बताए ।

सुरक्षाको कुनै पनि मापदण्ड पालना नभएको भन्दै उनले उपचारमा लगेका प्रहरी जवानलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको जानकारी दिए । कारागारका जेलर युवराज परियारले सुरक्षा प्रशासनकै कमजोरीले कैदी भागेको दाबी गरेका छन् । आफूहरु अस्पताल र अदालत ल्याउने लैजाने गाडी नभएका कारण मोटरसाईकलमा लगेको भन्दै उनले सुरक्षा प्रशासनले कमजोरी गरेका कारण कैदी भागेको बताए ।

२० वर्ष कैद सजाय तोकिएका परियारले हालसम्म साढे सात वर्ष कैद सजाय भुक्तान गरिसकेका थिए । घटनाबारे प्रहरी जवान चौधरीले दिउँसो ४ बजे मात्रै जानकारी दिनु र चौधरीको मोटरसाईकल कैदीले लिएर जानुमा प्रहरीको मिलेमतो पनि देखिएको छ ।

479 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal