सबैको प्रतिनिधित्वको भावना पनि समेटेर अघि बढ्छु: देउवा

२०७८ पुष १० गते, शनिबार

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनमा आफूलाई भोट नदिनेहरुको भावना पनि समेटेर पार्टी सञ्चालन गर्ने बताएका छन् ।

केन्द्रीय समितिका नवनिर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण गर्न आयोजित कार्यक्रममा उनले आफूलाई विश्वास गरेर निर्वाचित गराउनेलाई धन्यवाद दिँदै भोट नदिनेहरुको पनि प्रतिनिधित्व गरेर पार्टीलाई अगाडि बढाउने बताएका हुन् ।

अब सबैको प्रतिनिधित्व गरेर पार्टीलाई अगाडि बढाउछु । मलाई भोट दिनेहरुको मात्र नभएर, भोट नदिनेहरुको पनि भावनालाई समेटेर पार्टी सभापति भएर काम गर्छु । यसमा सबैको सहयोग हुन्छ भन्ने विश्वास छ’ उनले भने ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट देउवा पुनस् दोस्रो कार्यकालका लागि सभापति निर्वाचित भएका हुन् । सभापति पदको निर्वाचनको दोस्रो चरणमा उनले शेखर कोइरालालाई नौ सय भन्दा बढी मतले पराजित गर्दै निर्वाचित भएका थिए । १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिमा पनि देउवा पक्षको बहुमत रहेको छ ।

सभापति देउवाले कांग्रेसमा वडातहदेखि केन्द्रसम्म लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन भएको बताउँदै यस्तो लोकतान्त्रिक अभ्यास नेपालका अरु दलमा नभएको बताए । ‘यस्तो अभ्यास नेपालका कुनै पनि दलमा छैन, यसकारण कांग्रेस सच्चा डेमोक्रेटिक (लोकतान्त्रिक) पार्टी हो’ उनले भने ।

सभापति देउवाले काङ्ग्रेसमा जस्तो समावेशी प्रतिनिधित्व पनि अरु पार्टीमा नभएको बताए । आगामी निर्वाचनमा स्थानीय तहदेखि केन्द्रसम्म कांग्रेस नै ठूलो पार्टी बन्ने सभापति देउवाले दावी गरे ।

396 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal