लुम्बिनी प्रदेश सरकारद्धारा द्वन्द्वपीडितको विवरण संकलन सुरु

२०७८ पुष ११ गते, आईतवार

बुटवल । लुम्बिनी प्रदेश सरकारले तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा मृत्यु भएका, घाइते भएका तथा अंगभंग भएकाहरूको विवरण संकलन सुरु गरेको छ ।सरकारले द्वन्द्व प्रभावित जिल्लाहरूबाट विवरण संकलन थालेको हो । रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाका अनुसार सरकारले सबै खालका पीडितको विवरण पठाउन प्रशासन कार्यालयहरूलाई पत्राचार गरेको हो ।सरकारले विवरण मागे अनुसार माओवादी सशस्त्र द्वन्द्वबाट अति प्रभावित उनले सरकारले पीडितका लागि राहत दिने उद्देश्यले विवरण संकलन गरिएको हुनसक्ने बताए ।

माओवादी सशस्त्र द्वन्द्वको उद्गम थलो रोल्पामा मुलुकमै सबैभन्दा बढी द्वन्द्व पीडित छन् । सशस्त्र द्वन्द्वका बेला रोल्पामा करिब एक हजारले ज्यान गुमाएका थिए । राज्य र विद्रोही पक्षबाट जिल्लामा मात्रै ९ सय ४६ जनाको ज्यान गएकोमा राज्य पक्षबाट ७ सय ६२ को, विद्रोहीबाट १ सय ६५ को, दोहोरो भीडन्तमा ८ जना र पक्ष नखुलाइएका ११ जनाको ज्यान गएको थियो ।प्रशासनका अनुसार हालसम्म राज्य पक्षबाट २७ र विद्रोहीबाट ६ जना गरी ३३ जना वेपत्ता भएका थिए । माओवादी सशस्त्र द्वन्द्वका क्रममा अपांग भएका ७७ जना छन् ।

उनीहरूलाई सरकारले जीवन निर्वाह भत्ता दिइरहेको छ । राहत लिएका अन्य अपांग ५ सय ९५ जना छन् । माओवादी सशस्त्र द्वन्द्वकै कारण मृतकका एकल महिला ३ सय २३ जना छन् भने वेपत्ताका एकल महिला ७ जना छन् ।माओवादीले २०५२ साल फागुन १ देखि थालेको सशस्त्र द्वन्द्वका क्रममा २३ वटा प्रहरी चौकी ध्वस्त भएका थिए । सरकारले कतिपय प्रहरी चौकीको पुनःनिर्माण गरिदिएको छ ।

122 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal