भैरहवामा ७ करोड बढी लगानीमा निर्माण गेट उद्घाटन

२०७८ पुष ११ गते, आईतवार

रूपन्देहीमा ७ करोड बढी रकम खर्च गरेर निर्माण भएको प्रवेशद्वारको उद्घाटन गरिएको छ।
सिद्धार्थनगर नगरपालिका-१ स्थित डण्डा खोला नजिक निर्माण गरिएको उक्त प्रवेशद्वारको पूर्वमन्त्री एवं रूपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य घनश्याम भुसालले आइतबार उद्घाटन गरेका हुन्।

नगरपालिकाले ७ करोड ९ लाख २७ हजार रुपैयाँ लागतमा निर्माण गरेको प्रवेशद्वार भारतीय सिमाना बेलहियादेखि एक किलोमिटर अगाडि निर्माण गरिएको भन्दै बेलहियाबासीले असन्तुष्टि जनाएका थिए।

प्रवेशद्वार उद्घाटन गर्दै सांसद भुसालले लुम्बिनी र रूपन्देहीको पर्यटन विकासमा यसले सकारात्मक प्रभाव पार्ने बताए।

पर्यटक बढे यस क्षेत्रको कारोबार बढ्छ, पर्यटकको बसाई लम्बिन्छ,’ भुसालले भने, ‘यसले सिंगो लुम्बिनीको आर्थिक वृद्धि दरमा टेवा पुग्छ।’

यसअघि बेलहियाको दशगजा नजिकै निर्माण गरिएको पुरानो प्रवेशद्वारलाई पनि भत्काएर सडक विभागले नयाँ, फराकिलो र आकर्षक गेट निर्माण गर्ने तयारी गरेको छ। दशगजा पारी भारतले आकर्षक गेट निर्माण गरेपछि नेपाल प्रवेश गर्ने गेट साँघुरो देखिएको छ।

भारतीय सिमाना हुँदै लुम्बिनी आउने पर्यटकहरूलाई बुद्धजन्मस्थल लुम्बिनी प्रवेश गरेको अनुभुति दिलाउने भन्दै बुद्धत्व झल्किने पर्यटकीय गेट निर्माण गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारी बताए।

नगरपालिकाले २०७५ साल मंसिरमा भैरहवाको प्राकृतिक निर्माण सेवासँग प्रवेशद्वार निर्माणको ठेक्का सम्झौता गरी तीन वर्षको अवधीमा निर्माण सम्पन्न गरेको हो।

नगरपालिकाका फिल्ड सुपरभाइजर चेतनारायण ज्ञवालीले गेट निर्माणको ठेक्का सम्झौता गर्दा २०७८ असार २५ गतेभित्रै निर्माण सम्पन्न गर्नुपर्ने समय सीमा तोकिएको थियो। तर दुई वर्ष देखि फैलिएको कोरोना महामारीका कारण पाँच महिना ढिला भएको बताए।

नेपाल र बुद्धको चिनारी झल्कने गरी तयार गरिएको प्रवेशद्वारको एडिट कन्सल्टेन्सी काठमाण्डौंले डिजाइन गरेको हो। गेटको डिजाइनपछि पुरातत्वविद्, लुम्बिनीका जानकार, शान्ति अभियन्ता, संस्कृतिविद्, समाजसेवी, बुद्धिजिवी, इन्जिनियर, जनप्रतिनिधि, परामर्शदाता, बौद्धज्ञाता र नगरबासीको छलफलपछि मात्रै पास गरिएको थियो।

प्रवेशद्वारमा बुद्धमूर्ति र स्वयम्भूका आँखासहितको बुद्ध चिनारी, अशोक स्तुपा राखिएको छ।

नगरप्रमुख अधिकारीले प्रवेशद्वारले सिद्धार्थनगरको सुन्दरता थपिएको बताए। उनले बुद्ध जन्मभुमि लुम्बिनीको प्रवेशद्वारको रूपमा रहेको सिद्धार्थनगरमा आइपुगेको अनुभुति दिन प्रवेशद्वार निर्माण गरिएको बताए।

५० मिटर लम्बाइ, २३ मिटर ८० सेन्टिमिटर चौडाइ तथा सडकदेखि २९ मिटर अग्लो रहेको उक्त प्रवेशद्वारमा नेपालको चिनारी झल्कने कलात्मक वस्तु, स्वयम्भूमा रहेको बुद्धको आँखासहितको चिनारी, अशोका, स्तूपा, विभिन्न १२ वटा बुद्धमूर्ति, हर्निका, आर्च र स्पायर गजूरले सिंगारिएको छ।

सिद्धार्थनगरको बेलहिया नाका स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने नाका हो। यो नाकामा नेपालको दोस्रो ठूलो भन्सार पनि छ। यो नाका हुँदै भारतलगायत तेस्रो मुलुकबाट वर्षेनी लाखौ पर्यटक लुम्बिनी भ्रमणमा आउने गर्छन्।

161 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal