प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न माओवादीले बनायो २५ वटा समूह

काठमाण्डाै । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आठौँ महाधिवेशनको बन्द सत्रमा प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न २५ वटा समूह गठन गरेको छ । प्रदेश र जनवर्गीय सङ्गठनहरूको छुटाछुटै समूह बनाएको माओवादी केन्द्रले जनाएको छ ।
छलफलका लागि प्रज्ञा भवनका हल, पार्टी कार्यालय र पार्टी प्यालेसमा स्थान तोकेको छ । प्रतिवेदनमाथि भोलि मङ्गलवार दिनभर छलफल हुने र पर्सि बुधवार समूहको निष्कर्ष सुनाउने कार्यतालिका छ ।
बन्द सत्रमा अध्यक्ष प्रचण्डले सात बुँदामा ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो, ऐतिहासिक आठौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदन’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस गर्नुभएकाे छ । उहाँले पेस गर्नुभएको राजनीतिक प्रतिवेदनमा नेता/कार्यकर्तामा विकसित हुँदै गएको चरम स्वार्थी प्रवृत्तिले माओवादीलाई क्रान्तिकारी रूपान्तरणमा लैजाने विषय जटिल बन्दै गएको उल्लेख छ ।
माओवादी शान्ति प्रक्रियामा आएदेखि अहिलेसम्म के–के कुरामा कमजोरी भयो भन्ने विषयमा प्रतिवेदनमा विस्तृत रूपमा उल्लेख गर्नुभएका प्रचण्डले वृहत् योजना र सुधारविना पार्टी अघि बढ्न नसक्ने बताउनुभएको छ ।