सर्लाहीकाे बयलवास बजार क्षेत्रमा निषेधाज्ञा जारी

२०७८ पुष १३ गते, मंगलवार

सर्लाही । सर्लाहीको बयलबास बजार र आसपासको क्षेत्रमा निषेधाज्ञा जारी भएको छ । प्रहरी भ्यानको ठक्करबाट व्यापारीकाे ज्यान गएको विषयलाई लिएर बयलवासका व्यापारीले  प्रदर्शन जारी राखेपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले निषेधाज्ञा जारी गरेको हो ।

आज मङ्गलवार दिउँसाे ३ बजेदेखि सुरु भएको निषेधाज्ञा भोलि बुधवार बेलुकी ७ बजेसम्म कायम रहने प्रमुख जिल्ला अधिकारी स्थानेश्वर गौतमले जानकारी दिनुभयो । निषेधाज्ञा अवधिभर बाहिर हिँडडुल गर्न, भेला हुन, सभा तथा अन्य गतिविधि गर्न प्रतिबन्ध लगाइएको प्रशासन कार्यालयले जनाएको छ ।

स्थानीय व्यापारीले आज बिहानैदेखि उनीहरूले टायर बालेर प्रदर्शन गरेका हुन् । प्रदर्शनलाई रोक्ने क्रममा प्रहरी र प्रर्दशनकारीबीच झडपसमेत भएको छ । पीडित पक्षले घटनाको छानबिन हुनुपर्ने र दोषीमाथि कानुनी कारबाही हुनुपर्ने माग गर्दै प्रदर्शन गरेपछि प्रहरी र प्रदर्शनकारीबीच दोहोरो झडप भएको हो । प्रदर्शनमा निस्किएका स्थानीय व्यापारीमाथि प्रहरीले १२ भन्दा धेरै अश्रुग्यासको सेल प्रहार गरेको छ ।

झडपमा प्रदर्शनकारीतर्फ एक जनालाई गोली लागेको छ भने केही घाइते भएका छन् । यस्तै १५ भन्दा बढी सुरक्षाकर्मी घाइते भएका छन् । 

गएकाे आइतवार राति इलाका प्रहरी कार्यालय बयलवासको जीपले स्थानीय व्यापारी ३० वर्षीय रामकुमार महतोलाई ठक्कर दिँदा ज्यान गएको थियो । प्रहरीले  महतोको ज्यान गएपछि घटना लुकाउन खोजेको र मृत्यु नै  शङ्कास्पद भएको भन्दै स्थानीय व्यापारीले टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् ।

हिजो साेमवार पनि आक्रोशित स्थानीय व्यापारीले प्रहरी कार्यालय घेराउ गर्नुको साथै इलाका प्रहरी कार्यालय हरिपुरको जीपमा समेत आगो लगाएका थिए ।  पीडित परिवारले घटनाको छानबिन नभएसम्म  शव नबुझ्ने अडान राखेकाे छ । मृतककाे शव पोस्टमार्टमपछि जिल्ला अस्पताल सर्लाहीमा राखिएको छ । 

247 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal