माघे सङ्क्रान्ति पर्वले नेपाली जनजीवन र प्रकृतिको निकटतालाई दर्शाउँछ: राष्ट्रपति भण्डारी

२०७८ माघ १ गते, शनिबार

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले माघे सङ्क्रान्ति पर्वले नेपाली जनजीवन र प्रकेतिको निकटतालाई दर्शाउने बताउनुभएको छ ।

नेपालका विभिन्न समुदायमा मनाइने माघे सङ्क्रान्ति एवम् माघी पर्वको सुखद् अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभयो ।

राष्ट्रपतिले सन्देशमा भन्नुभएको छ, “सूर्य उत्तरायण हुने प्रक्रियासँग सम्बन्धित हुनाले माघी अर्थात् माघे सङ्क्रान्ति पर्वले नेपाली जनजीवन र प्रकृतिको निकटतालाई दर्शाउँछ । हाम्रा धेरै पर्व यसै गरी प्रकृतिसँग अन्योन्याश्रितरूपले जोडिएका छन् । नेपाली समाज प्रकृति र संस्कृतिको सुन्दर सङ्गम भएको हुनाले हाम्रा व्यवहार पनि प्रकृतिमैत्री र वातावरण संरक्षणउन्मुख हुनुपर्दछ भन्ने अन्तर्निहित सन्देशलाई हामीले आत्मसात् गर्नुपर्छ ।”

माघे सङ्क्रान्ति वा मकर सङ्क्रान्ति पर्वलाई नेपालका विभिन्न जातजातिले हर्षोल्लास पूर्वक मनाउने परम्परा रही आएको तथा थारू समुदायमा माघी पर्वलाई नयाँ वर्षका रूपमा धुमधामसँग मनाइने प्रचलन रहेको उल्लेख गर्दै उहाँले विविधतापूर्ण नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको भावनामा आवद्ध गर्न माघी पर्वले योगदान गरिरहेको बताउनुभयो ।

मगर समुदायमा आजको दिन तीरको निशाना लगाउने खेल प्रचलनमा छ भने पवित्र नदी एवम् त्रिवेणीहरूमा स्नानपश्चात् पूजा अर्चना तथा घिउ, चाकु, तरुल, सेलरोटी, तिलको लड्डु, ढिक्री र खिचडीजस्ता परिकार सेवन गर्ने परम्परा रहेको छ ।

105 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal