आजदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति

२०७८ माघ २ गते, आईतवार

काठमाडौं । वैदेशिक रोजगार कार्यालय काठमाडौंले आजदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने भएको छ। २०७७ पुसदेखि भौतिक उपस्थिति र अनलाइन माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकामा अबदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृतिको काम हुनेछ।

अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति जारी हुने व्यवस्थाले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुगेर घर बिदामा आएका कामदारले पुनः श्रम स्वीकृति लिन घण्टौं लाइनमा बस्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुने कार्यालयले बताएको छ। पुनः श्रम स्वीकृतिको अनलाइन सेवा लिन सेवाग्राहीले वैदेशिक रोजगार विभागको वेबसाइटको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमार्फत आवश्यक सबै कागजातसहित फाराम भर्नु पर्नेछ।

अनलाइनमा कागजात जाँच गर्न समय लाग्ने भएकाले कम्तीमा तीन दिनअगाडि अनलाइन फाराम भर्न र श्रम स्वीकृति लिइसकेपछि मात्र हवाई टिकटको प्रबन्ध गर्न कार्यालयले आग्रह गरेको छ। उडान हुने मितिसम्म श्रम स्वीकृतिको म्याद ९० दिनभन्दा बढी हुनुपर्ने भएकाले सोही बमोजिम भए नभएको यकिन गर्न पनि कार्यालयले भनेको छ।

259 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal