इलामको सुकिलुम्बा विमानस्थल छिट्टै सञ्चालनमा आउने
इलाम । इलामको सुकिलुम्बा विमानस्थल छिट्टै सञ्चालनमा आउने भएको छ ।
यसका लागि इलाम नगरपालिका र तारा एयर प्रालिबीच जहाज सञ्चालन सम्बन्धी सम्झौता भएको छ । आउँदो फागुन ८ गतेदेखि प्रत्येक आइतवार उडान–अवतरण हुने निश्चित भएको हो।
नगरपालिकाले १२ उडानका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । १६ यात्रु अट्ने सिट क्षमताको जहाज एकतर्फी भाडा आठ हजार ७०० रुपैयाँ तोकिएको छ । सम्झौताअनुसार ११र११ जनाको आउने–जाने भाडा इलाम नगरपालिकाले नै तिर्नुपर्नेछ ।
नगरपालिकाले एकतर्फ भाडा तिरे दुईतर्फकै उड्नका लागि सहुलियत दिएको छ । नगर प्रमुख महेश बस्नेतले आठ हजार ७०० रुपैयाँमा टिकट काटिएपछि आउने–जाने दुवैतर्फी टिकट यात्रुले पाउने जानकारी दिनुभयो । अहिले तीन हप्ताका लागि सम्झौता भएको छ । कम्तीमा तीन महिना नियमित सञ्चालन गर्ने गरी सम्झौता भएको हो ।
सम्झौताअनुसार यस अवधिमा इन्धनको मूल्य फरक परेमा त्यहीअनुसार भाडा समायोजन गरिने सम्झौतापत्रमा उल्लेख छ । गएको चैत अन्तिम हप्ता नै विमानस्थल उडान–अवतरणका लागि तयार भएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पनि उडान–अवतरणका लागि विमानस्थल तयार भइसकेको छ ।
विमानस्थलको ६७० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग कालोपत्रे भएको छ । विमानस्थल निर्माणका लागि अहिलेसम्म करिब २८ करोड रुपैयाँ खर्च भइसकेको प्राधिकरणले जनाएको छ । २०७५ जेठ २१ मा यो विमानस्थलमा परीक्षण उडान गरिएको थियो ।
विमानस्थल सञ्चालनपछि इलामसहित पाँचथर, ताप्लेजुङ र भारतको दार्जिलिङ सिक्किमलगायतका बासिन्दालाई सुविधा हुनेछ ।