भारतमा कोरोना सङ्क्रमण बढ्दै गएपछि कैलालीमा सीमामै कोरोना परीक्षण र खोप

२०७८ माघ ५ गते, बुधबार

कैलाली । भारतमा कोरोना सङ्क्रमण बढ्दै गएपछि कैलालीको दक्षिण–पूर्वी नाका सत्ती भन्सार हुँदै नेपाल प्रवेश गर्नेहरुको सङ्ख्या बढ्दै गएको छ ।

कामको सिलसिलामा भारत गएका नेपाली भारत कोरोना जोखिम बढेसँगै घर फर्किन थालेका छन् ।

भारतमा दैनिक सङ्क्रमणदर बढ्दै जाँदा नागरिक विगत वर्षमा जस्तो लकडाउन हुने हो कि भन्दै घर फर्किन थालेका छन् । बर्दियाको राजापुरका सञ्जय चौधरी त्यही त्रासले भारत गएको तीन महिनामै घर फर्किनुभयो ।

‘भर्खर काममा लागेको थिएँ, कोरोनाको सङ्क्रमण बढेपछि छाडेर फर्किनुपर्योु, उहाँले भन्नुभयो, ‘पहिलो वर्ष महिनौ लकडाउनमा काम नगरि बस्दाको पीडालाई सम्झेर फेरि पनि त्यस्तै हुने हो कि भन्ने डरले घर फर्केको हुँ ।’

अहिले सत्ती भन्सारबाट दैनिक सयौँ नागरिक घर फर्किन थालेका छन् । खक्रौला हेल्थ डेस्कका प्रमुख मकेन्द्र रोकायाका अनुसार माघीको एक–दुई दिन अगाडिसम्म दैनिक ५०० भन्दा बढी नेपाली सत्ती नाकाबाट प्रवेश गरेका छन् भने अहिले पनि त्यही सङ्ख्यामा नेपाली स्वदेश फर्किरहेका छन् । उहाँले भारतबाट नेपाल आउने नागरिकलाई विशेष निगरानीमा राख्ने गरिएको बताउनुभयो । शङ्कास्पद व्यक्तिको एन्टिजेन परीक्षण गर्ने र खोप नलगाएकालाई सीमामै खोप लगाएर पठाउने गरिएको छ ।

‘कोरोना परीक्षण गर्ने गरेका छौँ, परीक्षणका क्रममा कसैलाई पोजेटिभ देखिए टीकापुर अस्पतालबाट एम्बुलेन्स मगाएर टीकापुरमै होल्डिङ सेन्टरमा राख्ने गरेका छौँ’, रोकायाले भन्नुभयो, ‘भारतबाट आउने वा भारत जाने नागरिकका लागि खोपकार्ड अनिवार्य गरेका छौँ, खोप नलगाएकालाई लगाएर पठाउने गरेका छौँ ।’

सुदूरपश्चिम प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता डा रणबहादुर रावलले कोरोनाको सङ्क्रमण बढ्न थालेको अवस्थामा सीमानाकामा कडाइ गरिनुपर्ने बताउनुभयो । सत्ती भन्सार कार्यालयमा रहेको हेल्थ डेस्कको अवस्थाबारे जानकारी लिन पुग्नुभएका उहाँले भारतबाट आउने नेपाली नागरिकको सीमा क्षेत्रमै कोरोना परीक्षण तथा खोप नलगाएकालाई खोपको व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो ।

107 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal