विदेशमा झण्डै चार महिनाको उपचारपछि माओवादी नेता पुन सोमबार स्वदेश फर्कँदै

२०७८ माघ ८ गते, शनिबार

काठमाण्डौ । उपचारको लागि झण्डै चार महिना विदेशमा रहेका नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन पर्सि सोमबार नेपाल आउनुहुने भएको छ ।

गएको असोजमा उपचारको लागि थाइल्याण्ड जानुभएका नेता पुन स्वास्थ्यमा थप समस्या आएपछि मंसिरमा उतैबाट चीन जानुभएको थियो । उहाँको स्वास्थ्यमा सुधार आएकाले पर्सि सोमबार राति नेपाल फर्कन लागेको स्वकीय सचिव सन्तोष पुनले बताउनुभयो ।
पुनलाई जण्डिस बिग्रिएपछि लाग्ने जटिल किसिमको रोग लागेको थियो । थाइल्याण्डमा एक महिना उपचार गराएका नेता पुनलाई उतैबाट चीनको सेनजेन लगिएको थियो ।

वर्षमान पुन देशबाहिर रहेका कारण माओवादी केन्द्रले पदाधिकारी टुंगो लगाउन सकेको छैन । पुसको ११ गतेदेखि काठमाण्डौमा भएको माओवादीको महाधिवेशनमा केन्द्रीय सदस्य चुनिए पनि पदाधिकारीको टुंगो लागेको छैन । वर्षमान पुन विदेशमा रहेकाले अध्यक्ष प्रचण्डले पदाधिकारीको घोषणा गर्नुभएको थिएन । महासचिवका दावेदार रहेका पुन नेपाल फर्किएपछि पदाधिकारीको टुंगो लाग्ने सम्भावना रहेको छ ।

265 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal