एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण पुष्टि

२०७८ माघ ९ गते, आईतवार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । अध्यक्ष ओली र उनकी पत्नी राधिका शाक्यलाई कोरोना पुष्टि भएको हो । सुरुमा एन्टीजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि ओली दम्पत्तिले पीसीआर परीक्षण गरेका थिए ।

पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि अहिले ओली दम्पत्ति आफ्नो निवासमा नै आइसोलेसनमा छन् । यसभन्दा अगाडि जोगिँदै आएका पूर्वप्रधानमन्त्री ओलीलाई कोरोना संक्रमण भएको पहिलोपल्ट हो ।

अध्यक्ष ओलीलाई कोरोना संक्रमण भएको जानकारी एमालेले केहीबेरमा औपचारिक प्रेस वक्तव्यमार्फत दिने भएको छ । अध्यक्ष ओली पछिल्लो सार्वजनिक कार्यक्रममा भने गएका थिएनन् । आज एमालेको पत्रकार सम्मेलन हुने भनिएकोमा अध्यक्षलाई कोभिड संक्रमण भएपछि स्थगित भएको हो ।

नेपालमा पछिल्लो कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ । केही समयअघि मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल लगायतका नेताहरुलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा मात्रै १० हजार २५४ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । परीक्षण घटेसँगै संक्रमित संख्या केही कम देखिएपनि लगातार पाँचौं दिन पनि १० हजारभन्दा बढी संक्रमित भेटिएका छन् ।

155 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal