रोजगारीको प्रलोभन देखाएर अलपत्र पार्ने म्यानपावर र एजेण्टलाई कारबाही गर्ने श्रम मन्त्री श्रेष्ठको प्रतिबद्धता

२०७८ माघ १२ गते, बुधबार

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले रोजगारीको प्रलोभन देखाएर अलपत्र पार्ने म्यानपावर कम्पनी र दलालहरुलाई कानून बमोजिम कारबाही गर्ने बताएका छन ।

मन्त्री श्रेष्ठले नेपाल सरकारले प्रतिवन्ध गरेका देशहरुमा आकर्षक रोजगारी लगाइदिने भन्दै प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगिरहेको भन्दै त्यसतर्फ सचेत भई यस्ता काम हुन नदिन मन्त्रालयमा सम्पर्क गरेर सहयोग गर्न पनि आग्रह गरेका छन ।

उनले भने, ‘पछिल्लो समय रोजगारीको प्रलोभन देखाएर भिजिट भिसामा यूएई पुर्‍याइ दलालले अलपत्र पारेको, ठगीमा परेको, विभिन्न समस्या तथा अफ्ठ्यारोमा परेको भनेर मलाई दिनहुँ कयौँ गुनासो आउने गरेको छ । विभिन्न सञ्चारमाध्यमबाट होस् वा मेरो आफ्नो मोबाइलमा फोन गरेर यी गुनासोहरु आउने गरेका छन्’, ‘वैदेशिक रोजगार ऐन बिपरित भिजिट भिसाको रुपमा श्रमीकहरुलाई अलपत्र बनाउने नाममा संलग्न कम्पनी वा व्यक्तिलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध छ । यसरी अलपत्र पारेको, ठगीमा परेको, विविध समस्या तथा अफ्ठ्यारोमा पर्नु भएको छ भने त्यस्तो कार्यमा संलग्न कम्पनी वा व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन उनीहरुबारे जानकारी गराइ सहयोग गरिदिनु हुन पनि म हार्दिक अनुरोध गर्दछु । त्यसका लागि मेरो सचिवालयको मोबाइल नम्बर ९८२३३५६७०४ र ९८२३३५६७०६ मा सिधा सम्पर्क गरी गुनासा, आफूलाई परेका समस्याहरु, टिपाउन सक्नुहुनेछ ।’

200 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal