यसकारण प्रचण्डले एमसीसी रोक्न लागे
काठमाडौं । नेकपा माओवादी केन्द्र अमेरिकी सहयोगसम्बन्धी एमसीसी रोक्न लागिसकेको छ । माओवादी केन्द्रले आठौं महाधिवेशनबाट नै अमेरिकाको आलोचना गरिएको प्रचण्डको राजनीतिक प्रतिवेदन पारित गरेको थियो । यसमा पनि उसले एमसीसीप्रति आलोचनात्मक धारणा ४५ बुँदामार्फत् सार्वजनिक गरेको थियो ।
प्रचण्डको राजनीतिक प्रतिवेदनमा अमेरिकाले भारतसँगको सम्बन्धलाई सुदृढ गर्नुका पछाडि हिन्द प्रशान्त क्षेत्रमा चीनलाई रोक्नका लागि हो भन्ने निष्कर्ष निकालिएको छ । प्रतिवेदनमा भनिएको छ, ‘वास्तवमा आज अमेरिका आफू मात्र नभई आफ्ना साझेदारहरुलाई पनि युद्धमा होम्ने तयारी गरिरहेको संकेत देखिएको छ ।’
प्रचण्डले हतियार र सैन्य क्षेत्रमा बढी खर्च गर्ने देशमा अमेरिकाको नाम पहिलो नम्बरमा उल्लेख गर्दै आलोचना गरेका थिए । यसबाट पनि उनी अमेरिकाप्रति नरम नभएको सन्देश गयो ।
१८ पौषमा महाधिवेशनपछि पारित ४५ बुँदे प्रस्तावको पाचौं नम्बरमा एमसीसी यथास्थितिमा पारित नगर्न उल्लेख छ । जसमा भनिएको छ, ‘नेपाल सरकार र एमसीसी बीच भएको सम्झौताका कतिपय प्रावधानहरु नेपालको राष्ट्रियता, सार्वभौमिकता, स्वाधीनता र हित प्रतिकूल असर पर्ने देखिएकाले यथास्थितिमा उक्त सम्झौता पारित नगरियोस् ।’
प्रचण्डले राजनीतिक प्रतिवेदन र महाधिवेशनबाटै एमसीसी पारित नगर्ने विषय उल्लेख गरिसकेका थिए । उनले अमेरिकाको चर्को आलोना समेत गरेका थिए । तर, २९ सेप्टेम्बर २०२१ मा प्रचण्डले अमेरिकालाई पत्र लेखी एमसीसी पारित गर्नका लागि पाँच महिनाको समय मागेको उजागर भयो । यो पत्रलाई प्रचण्डले गठबन्धन जोगाउने रणनीतिक दाउपेच भने ।
वास्तवमा प्रचण्डले एमसीसी रोक्ने रणनीतिक चार्तुयता देखाइरहेका थिए । अमेरिकालाई अलमलमा पार्न खोजेका थिए । चुनावयता एमसीसी पारित नगर्ने भन्दै अलमलाउन खोजे । तर, यसपटक प्रधानमन्त्री शेरबहादुर देउवा तयार भएनन् । अमेरिका पनि अलमलिन तयार भएन ।
अमेरिकी विदेश सहायकमन्त्री डोनाल्ड लूले २७ माघमा प्रचण्डसँग टेलिफोन वार्ता गरी एमसीसीबारे स्पष्ट हुन भनिसकेका छन् । उनले एमसीसी पारित नभए अमेरिकाले सम्बन्ध र सहयोगमा पुनरावलोकन गर्ने चेतावनी समेत दिए । तर, प्रचण्ड एमसीसी पारित गर्ने पक्षमा छैनन् ।
एमसीसी पारित गर्न बढेर प्रचण्डले चीनलाई नचिढ्याउने बुझिएको छ । अर्कोतर्फ, माओवादीभित्र एमसीसी विरोधी मत बलियो छ । एमसीसी पारित गर्न बढेमा माओवादीमा दुर्घटना हुनसक्छ । जनमत एमसीसीको विरोधमा रहेको बुझाई माओवादीभित्र छ । तर, यो भ्रम फैलाइएको विश्लेषण हुन थालेको छ । यस्तो भ्रम कुन उद्देश्यले किन फैलाइयो चासोको विषय बनिसकेको छ ।