बत्ती निभाएर, मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेखे हुन्छ: अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बत्ती निभाएर, मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेख्न गठबन्धनधारी दललाई चेतावनी दिनुभएको छ ।
एमालेका सातै प्रदेशको चुनावी प्रशिक्षण एकसाथ सुरुवात गर्दै अध्यक्ष ओलीले पार्टीले अबका तीनै तहको चुनावमा बुहमत ल्याउने जिकिर गर्नुभयो । ‘विगतमा नै ४१.८ प्रतिशत जितेका छौं, अब बहुमत ल्याएर जित्छौं,’ उहाँको भनाइ थियो, ‘अब के गर्छन् विचराहरुले ।’
ओलीले आफ्नो पार्टीका तर्फबाट स्थानीय तहमा गएका जनप्रतिनिधिको उच्च प्रशंसा गर्नुभएको छ । कोभिड महामारी नियन्त्रण र रोकथाम, शिक्षामा सुधार, कृषकलाई प्रोत्साहन, सामुहकि भावनाको विकास, प्रविधिको प्रयोग आदि कुरामा असाधारण भूमिका निर्वाह गरेको अध्यक्ष ओलीले बताउनुभएको छ । ‘जनप्रतिनिधिका कामबाट नै स्थानीय तहलाई किन सरकार भनियो भन्ने कुराको पुष्टि गरेको छ,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘यी सबै राम्रा कामका लागि सबै जनप्रतिनिधिको उच्च प्रशंसा गर्न चाहन्छु ।’