ओलीले बोलाए कोर टिमको बैठक, चार न्यायाधीशविरुद्ध भोलि महाभियोग दर्ता गरिने

२०७८ फाल्गुन २ गते, सोमबार

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आजै बेलुका बस्नेगरि कोर टिमको बैठक बोलाएका छन् । आजमात्रै एमालेको संसदीय दलको बैठक बसेको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्ता गठबन्धनमा आवद्ध दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का सांसदहरुले महाभियोगको प्रस्ताव दर्ता गरेपछिको उत्पन्न परिस्थितिको बारेमा ठोस समिक्षा गर्ने भनेर बोलाईएको संसदीय दलको बैठकले आवेग र उत्तेजनामा आएर निर्णय नलिने भनिएको थियो ।

तर, अध्यक्ष ओलीले आजै साँझ आफ्नो निवासमा पार्टीका शीर्ष नेताहरुलाई छलफलको लागि बोलाएको खुलेको छ। स्रोतका अनुसार एमालेले परमादेश जारी गर्ने चार जना न्यायाधीशहरुविरुद्ध भोलि (मंगलबार) जुनसुकै बेला महाभियोग दर्ता गर्ने तयारी गरेको छ । यसको लागि सांसदहरुको हस्ताक्षरसमेत संकलन भैसकेको छ ।

एमाले उच्च स्रोतले भन्यो,‘पार्टी अध्यक्षले आफ्नो कोर टिमका नेताहरुलाई आज साँझ बोलाउनुभएको छ, परमादेश जारी गर्ने न्यायाधीशहरुविरुद्ध महाभियोग दर्ता हुन्छ, सबै कुरा तयारी अवस्थामा छ ।’ एमालेले सभामुख अग्निप्रसाद सापकोटालाई पनि महाभियोग लगाउने चर्चा छ । तर, केही सांसदहरुले भने अहिले चोलेन्द्र शमशेर जबरालाई बोकेर हिँड्न नहुने धारणा राखेका थिए । संसदीय दलको बैठकमा सांसदहरुको राय बाझिएपनि अध्यक्ष ओली भने काउन्टर महाभियोग लगाउनेगरि अघि बढिसकेका छन् । एमालेले प्रधानन्यायाधीश जबराविरुद्ध ल्याइएको महाअभियोगको प्रस्ताव लोकतन्त्रमाथि हमला भएको बताएको छ ।

112 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal