विजयनगर गाउँपालिका आधारभूत स्वास्थ्य सेवामा सम्पन्न हुदैं: अध्यक्ष थापा

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले अहिले विजयनगर गाउँपालिका आधारभूत स्वास्थ्य सेवा सुविधाहरूमा सम्पन्न हुँदै गईरहेको दाबी गर्नु भएको छ । सोमबार गाउँपालिकाको सभा हल खडैचामा आयोजित एक सम्मान कार्यक्रममा उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले स्थानीय सरकार आइसकेपछि गाउँपालिकाले स्वास्थ्य क्षेत्रको विकासमा छिटै फड्को मार्न सफल भएको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, ‘आधारभुत सेवाका लागि पालिकाबासीले बाहिर जानै पर्दैन ।’
उहाँले गाउँपालिकाको सबै क्षेत्रमा स्वास्थ्य सेवा पुग्ने गरी एम्बुलेन्स सेवा, स्वास्थ्य चौकी देखि लिएर आधारभूत स्वास्थ्य इकाई केन्द्रको स्थापना गरि सर्वसुलभ रुपमा सेवा दिँदै आएको बताउनुभयो । वडा नम्बर ६ बद्दौरमा १५ शय्याको अस्पताल बन्ने सूचना निस्किसकेको अध्यक्ष थापाले जानकारीसमेत दिनुभयो । मानव विकास सुचाङ्कमा सबैभन्दा पछाडी परेको ठाउँ भए पनि हरेक पुर्वाधारहरुमा अन्य पालिकाभन्दा विजयनगरले नमुना काम गरेको उहाँको भनाइ छ ।
अध्यक्ष थापाले साविकका गाविसहरू हुँदा घरमै वा अन्य ठाउँमा सुत्केरी गराउन लैजाने बाध्यता रहेको थियो भने अहिले गाउँपालिकाले ३ वटा बर्थिङ सेन्टर (प्रसुति गृह) र आयुर्वेदिक औषधालय सञ्चालनमा ल्याइसकेको बताउनुभयो । स्वास्थ्यकर्मीले स्वास्थ्य क्षेत्रमा खेलेको उल्लेखनीय भुमिकाको प्रशंसा गर्दै उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले स्वास्थ्यमा क्षेत्रमा भएको परिर्वतन स्वास्थ्यकर्मीको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । उहाँले सबैको अथक प्रयासले स्वास्थ्य सेवा सुविधा सहज भएको बताउनुभयो ।
स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले एक कार्यक्रमका बीच जहाँ स्वास्थ्य संकट, त्यहाँ स्वास्थ्यकर्मी भन्ने मुलनाराका साथ पालिकाका स्वास्थ्यकर्मीले सेवाप्रति गरेका योगदानको कदर गर्दै सबै स्वास्थ्यकर्मीलाई सम्मान गरिएको जानकारी दिनुभयो ।

स्वास्थ्य शाखा प्रमुख अधिकारीले विश्व भरि फैलिएको कोरोना महामारीको विषम् परिस्थितिमा पनि आफ्नो ज्यानको बाजी लगाउँदै स्वास्थ्यकर्मीले गरेका कार्य अतुलनीय रहेको बताउनुभयो । उहाँले आगामी दिनमा स्वास्थ्य सेवालाई अझै प्रभावकारी तरिकाले सबै जनताको पहुँच स्वास्थ्यमा पुग्न सकिने गरि अगाडी बढाउँदै लैजाने बताउनुभयो ।