लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोड्नुपर्छ: राष्ट्रपति भण्डारी

२०७८ फाल्गुन ७ गते, शनिबार

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक न्याय, समानता र समृद्धिका माध्यमबाट जनतालाई वास्तविक परिवर्तनको अनुभूति गराउँदै हाम्रो लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोड्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रपति भण्डारीले प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धि हासिल गर्न सबैमा नयाँ उत्साह प्रदान गर्न सकोस् भन्ने कामना गर्नुभएको छ । आज प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिंदै राष्ट्रपति भण्डारीले सो कामना गर्दै प्रजातन्त्र वा लोकतन्त्र जुनसुकै नाम दिए पनि जनतामा आधारित शासन प्रणालीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्नुपर्नेमा जोड दिनुभयो । लोकतान्त्रिक प्रणालीले मात्र नागरिकलाई एकताको मालामा गाँसेर बलियो राष्ट्र निर्माण गर्ने बताउँदै उहाँले लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोड्नुपर्ने बताउनुभएको छ ।

‘लोकतन्त्रलाई सार्थक बनाउन तदनुकूलको राजनीतिक व्यवस्था केवल साधन मात्र हो, साध्य होइन । राजनीतिक प्रणालीले तयार गरेको जगमा उभिएर राष्ट्रिय जीवनका हरेक पक्षले उच्च लोकतान्त्रिक आचरण, पारस्परिक विश्वास र सहयोगी भावना अभिवृद्धि गर्नु अत्यन्त आवश्यक छ, जनताको जागरुकताले मात्र लोकतन्त्र निरन्तर विकसित हुँदै जान्छ । र, अन्ततोगत्वा लोकतन्त्र हाम्रो जीवन पद्धति बन्न सक्दछ,’ सन्देशमा भनिएको छ ।

प्रजातन्त्र वा लोकतन्त्र जुनसुकै नाम दिए पनि जनतामा आधारित शासन प्रणालीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्नुपर्ने वास्तविकतालाई स्मरण गर्नुपर्ने बताउँदै सन्देशमा राष्ट्रपतिले हाम्रो संविधानले अवलम्बन गरेको राजनीतिक व्यवस्थाले जनतालाई नै राज्य शक्तिको सम्पूर्ण स्रोत मानेको उल्लेख गर्नुभएको छ ।

181 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal