सबै राजनीतिक उपलब्धि २००७ सालको क्रान्तिको जगमा प्राप्त भएका हुन्: प्रधानमन्त्री देउवा

२०७८ फाल्गुन ७ गते, शनिबार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले २००७ सालको राजनीतिक क्रान्तिबाट प्राप्त सफलतामा टेकेर अघि बढ्दै जाँदा नै आज मुलुकमा सङ्घीय, लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी शासन प्रणाली स्थापना हुन सकेको उल्लेख गर्नुभएको छ ।

उहाँले ७२औँ प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै २००७ सालको क्रान्त्रिको जगमा उभिएर नै आज सबैले स्वतन्त्रता र आत्म सम्मानका साथ बाँच्न पाइरहेको, नागरिक हकअधिकारको उपभोग गर्न पाएको तथा राज्यको सबै तह र संरचनामा आम नागरिकको पहुँच स्थापित हुन सकेको बताउनुभएको छ ।

प्रधानमन्त्री देउवाले उल्लेख गर्नुभएको छ, “वास्तवमै हामी आज स्वतन्त्र देशका सम्मानित र सार्वभौम नागरिक भएका छौँ । राजनीतिकरूपमा मुलुकले ठूलो फड्को मारेको छ । यसका लागि २००७ सालको राजनीतिक क्रान्तिदेखि २०४६ र २०६२/६३ सालको जनआन्दोलनसम्मको ठूलो भूमिका रहेको छ ।”

विसं २००७ मा भएको प्रजातन्त्र प्राप्तिको राजनीतिक क्रान्ति नेपालको इतिहासमा दूरगामी र ऐतिहासिक महत्व राख्ने क्रान्ति हो । यसैको जगमा त्यसपछि विभिन्न क्रान्तिहरू सम्पन्न भई आज हामीले लोकतन्त्र, गणतन्त्र र सङ्घीय शासन प्रणालीसम्मको यात्रा पूरा गरेका छौँ । उहाँले नेपाली कांग्रेसको अगुवाइमा तत्कालीन राजा त्रिभुवन, विभिन्न राजनीतिक दल र नेपाली जनताको संयुक्त प्रयासमा एकतन्त्रीय शासनको अन्त्य भई जनताको हक अधिकार, स्वतन्त्रता र विधिको शासन स्थापना गर्न २००७ सालमा आजकै दिन प्रजातन्त्रको घोषणा भएको उल्लेख गर्नुभएको छ ।

277 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal