पशुपति धर्मशाला छिट्टै सरकारको स्वामित्वमाः मन्त्री आले

२०७८ फाल्गुन ११ गते, बुधबार

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले बतास समूहले चलाइरहेको पशुपति क्षेत्रको धर्मशाला छिटोभन्दा छिटो सरकारको स्वामित्वमा ल्याउने बताएका छन्।

मंगलबार महाशिवरात्री पर्व–२०७८ मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री आलेले बतास समूहलाई हटाउने सरकारको निर्णयमा सो समूहले लिएर आएको अल्पकालीन आदेशसमेत अदालतले खारेज गरिसकेकाले छिटोभन्दा छिटो धर्मशाला फिर्ता ल्याइने बताएका हुन्।

नेपाल–भारतमैत्री पशुपति धर्मशाला सञ्चालन ठेक्का रद्द गर्ने सरकारको निर्णयविरुद्ध बतास समूहले पाएको अन्तरकालीन अन्तरिम आदेश उच्च अदालत पाटनले खारेज गरेको थियो।

सम्झौता र मापदण्डभन्दा विपरीत धर्मशालालाई होटलका रुपमा सञ्चालन गरेको भन्दै पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा गठित छानबिन समितिले पेस गरेको प्रतिवेदनका आधारमा गत माघमै बताससँगको ठेक्का सम्झौता रद्द गर्ने निर्णय गरिसकेका मन्त्री आलेले विगतका प्रतिनिधिले धर्मशाला कौडीको भाउमा बेचेको भन्दै अब त्यस्तो कदम सह्य नहुने बताए।

मन्त्री आलेले पशुपतिप्रति गिद्धे दृष्टि लगाउनेहरूको कहिल्यै कल्याण नहुने बताउँदै भक्तजनको सुविधाका लागि सफा, सर्वसुलभ शौचालय र पानीको धाराको व्यवस्था गरिने समेत बताए। विकास कोषको अध्यक्षसमेत रहेका मन्त्री आलेले यस वर्षको महाशिवरात्रि पर्व विगतका वर्षभन्दा भव्य र सभ्य रुपमा मनाउने बताए। त्यसको तयारीमा लाग्नसमेत उनले कोषलाई निर्देशन दिएका छन्।

फागुन १७ गते परेको महाशिवरात्रि पर्वलाई भव्य र सभ्य बनाउन कुनै पनि कसर बाँकी नराख्न उनले निर्देशन दिँदै धर्मावलम्बीहरूलाई सहज रुपमा मन्दिर दर्शनको व्यवस्थाका लागि पानी पिउन र सरसफाइमा विशेष ध्यान दिनसमेत निर्देशन दिएका छन्।

यस वर्षको महाशिवरात्रिमा करिब १० लाख दर्शनार्थी मेला भर्न तथा दर्शन गर्न आउने पशुपति क्षेत्र विकास कोषको अनुमान छ। कोषका सदस्य सचिव मिलनकुमार थापाका अनुसार महाशिवरात्रिलाई भव्य र सभ्य बनाउन मूल समारोह समितिसहित १० वटा उपसमिति गठन भएका छन्।

मेलामा आउने दर्शनार्थीको सुरक्षाका लागि १० हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ। साधुसन्तहरूको भोजन र आवासका लागि समेत विशेष पहल गरिने जनाइएको छ।

महाशिवरात्रिको तयारीअनुसार पशुपति क्षेत्रका भित्तामा शिवपार्वतीलगायत देवीदेवताका चित्र बनाएर आकर्षक रुपमा सजाउन थालिएको छ। साधुसन्तको आगमन सुरु भएको छ भने विभिन्न स्थानमा रङरोगनका कामसमेत अघि बढेको छ।

114 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal