छोरी जन्माउनेहरु सबैभन्दा भाग्यमानी: अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छोरा र छोरीमा विभेद नगर्न आग्रह गर्नुभएको छ । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा अखिल नेपाल महिला संघले मंगलबार काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो – ‘छोरा र छोरीमा भेदभाव गर्ने प्रचलन अझै पनि छ,छोरा र छोरीमा भेदभाव नगरियोस् ।’
छोरालाई अलि बढी प्राथमिकता दिने सोच त्याग्न महिला नेतृलाई पनि आग्रह गर्नुभयो । अध्यक्ष ओलीले छोरी जन्माउनेहरु सबैभन्दा भाग्यमानी हुने पनि बताउनुभयो । ‘भाग्यमानीले छोरी जन्माउँछ र बुढेसकालमा स्याहार सम्भार पाउँछ,छोरा जन्माउनेलाई अभागी भन्न त भएन तर बढ्दा भाग्यमानीले छोरी जन्माउँछ ।’ छोरीलाई शिक्षा दिक्षा दिने कुरा, छोरीलाई हेला होचोसाथ हुर्किन नपरोस्,उनीहरु स्वतन्त्र चेतसाथ अगाडि बढुन् भन्ने कुरामा हरेक अभिभावकले ध्यान दिनुपर्ने अध्यक्ष ओलीले बताउनुभयो ।
सरकारले पनि यी कुरालाई ध्यान दिएर नीति बनाउनुपर्ने बताउनुभयो । छोरीले हेला होचाइका साथ हुर्किनु नपरोस भन्दै महिलाहरुलाई अघि बढाउन सरकारले विशेष नीति बनाउनुपर्ने उहाँले बताउनुभयो । छोरीहरुले छोडे भने मात्र छोराहरुले रोजगार पाउने अवस्था अहिले देखिएको उहाँले बताउनुभयो । शारीरिक अवस्था बाहेक अरु सबै हिसाबले महिलाहरु अगाडि रहेका र रहनुपर्ने बताउनुभयो । छोरीहरू पढाईमा अब्बल हुने,क्याप्पस टप्ने र लोकसेवा टप्नेमा पनि महिला धेरै रहेका उहाँले बताउनुभयो ।
हरेक व्यक्तिको पहिलो शिक्षक आमा भएको उहाँले बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो – ‘एक जना पुरुष शिक्षित भयो भने एक जना नागरिक शिक्षित हुन्छ एक जना महिला शिक्षित भयो भने परिवार नै शिक्षित हुन्छ ।’ धर्म र शास्त्रमा मात्र नभएर अहिले पनि शिक्षा लगायत सबै क्षेत्रमा महिलाहरु अग्रपंक्तिमा रहेका बताउनुभयो ।
मौका मिल्यो भने हरेक कुरामा महिलाले कीर्तिमान राख्न सक्छन् भन्ने कुरा इतिहासदेखि अहिलेसम्म पुष्टि भएको उहाँको भनाइ छ । महिलाहरु शसक्त हुँदै गएको उहाँले बताउनुभयो । यद्यपि महिला शिक्षाका लागि सरकारले विशेष नीति बनाउनुपर्ने उहाँले बताउनुभयो । हरेक बालिका विद्यालय छोडेर बाहिर नजाऔन्,ड्रप आउट नहोस्,उनीहरुले उच्च शिक्षासम्म पढ्न पाउन्, पाउने परिस्थिति निर्माण गरौँ,शिक्षित छन् भने आत्मनिर्भरता त्यहाँबाट कायम गर्न सक्छन्,स्वाबलम्बि हुन सक्छन्,आफ्नो खुट्टामा उभिन् सक्छन् ।’
केही विद्धानहरुले मनुस्मृतिमा महिला विरुद्धका विषय थपेका पनि उहाँले बताउनुभयो । बालक हुँदा बावुको संरक्षणमा, युवा हुँदा पतिको संरक्षणमा र बुढो भएपछि सन्तानको संरक्षणमा रहने भनेर मनुस्मृतिमा पछि थपिएको भन्दै उहाँले यो गलत रहेको बताउनुभयो । महिलाहरु कहिल्यैपनि कमजोर नरहेका उहाँले बताउनुभयो ।