कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नै नेकपा एमाले हो: गिरधारीलाल न्यौपाने

२०७८ चैत्र २ गते, बुधबार

गिरधारीलाल न्यौपाने

नेपालको कम्युनिस्ट आन्दोलनमा लागेको चार दशक पूरा गरेर मेरो राजनैतिक यात्रा अहिले पनि क्रमशः अगाडि बढिरहेको छ । यसबिचमा मेरो राजनैतिक यात्रा विभिन्न उतारचढाव, अप्ठ्यारो, असजिलो पार गर्दै निरन्तर जारी रहने गरेको छ । प्रवासी नेपालीको सुखदुःखको साथी भएर या वेश्यालयमा रहेका नेपाली चेलीका दाजु अथवा अभिभावक भएर दिल्लीको जी.बी. रोड (वेश्यालय) बाट पीडित महिलालाई त्यो नारकीय जीवनबाट निकालेर नेपाल ल्याई घरजम गराउनेदेखि कस्मिरमा सामूहिक हत्या गरिएका आठ जना नेपालीको हत्यारालाई कारबाही गराउन तथा उनका परिवारलाई क्षतिपूर्ति दिलाउन, गुजरातको भुजमा भूकम्पपीडितलाई क्षतिपूर्ति दिलाउन वा त्यसबारे जानकारी लिन घटनास्थलमा पुगेर नेपालीको प्रतिनिधि पात्रको रूपमा उपस्थित भएर लगायतका थुप्रै कामहरू मेरो नेतृत्वमा सम्पन्न भएका छन् ।

बहुचर्चित आरुषि–हेमराज हत्याकाण्डको सी.बी.आई. बाट जाँच गराउन हामी सफल भएका थियौँ । साथै घटनाका दोषीलाई कारबाहीस्वरूप सजाय दिलाउन सफल हुनुलगायत दर्जनौँ सामाजिक आन्दोलनमा मेरो उपस्थिति र सक्रियता रह्यो ।

मेरो राजनैतिक यात्रा १७ वर्षको उमेरमा पार्टी सदस्यता लिएर सुरु भएको थियो । पार्टी सदस्यता लिएर सेल सचिवबाट राजनीतिक जीवनयात्रा सुरु गरेपछि पार्टी केन्द्रीय कमिटीको सदस्य, पी.बी.एम. सम्म हुँदै कुनै सिढीका पाइला क्रस नगरिकन वामपन्थी आन्दोलनमा निरन्तर पाइला बढाइरहेको छु ।

हाल नेकपाको निरन्तरताको रूपमा नेकपा (एमाले) मा आबद्ध छु । हाल माओवादीमा भएका अत्यधिक नेता कमरेडहरू मसालबाट आउनुभएको हो । एमालेमा पनि मसाल, माओवादी, एमाले वा त्यसै वरपरका साथीहरूको संलग्नता रहने गरेको छ । अर्को कुरा, २०७५ सालमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) संयुक्त भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाएका थियौँ । तत्कालीन यी दुई पार्टी एकीकरण गर्दा एमालेले माओवादीको सम्बन्धमा गरेको राजनीतिक विश्लेषण र माओवादीले एमालेको बारेमा निश्चित गरेको राजनैतिक विश्लेषणलाई बदलेर दुवैले दुवै पार्टीलाई माक्र्सवादी–लेनिनवादी घोषणा ग¥यौँ । त्यतिखेर हिजोका कमी–कमजोरी वा गल्तीबाट पाठ सिकेर एउटै पार्टी बनाएर नेकपा घोषणा भएको थियो । त्यसपछि २०७५ जेठ ३ गतेभन्दा पहिला दुवै पार्टीका एकअर्काप्रतिका विश्लेषण इतिहासको विषय बनिसकेका थिए ।

नेकपाको इतिहासबाट हेर्दा जनताका जे जति काम गरियो अथवा काम भए, गर्दै गयौँ । त्यस क्रममा पार्टीमा जति मतभेद उत्पन्न भए, ती सबै राजनीतिक मतभेद थिएनन्, मात्र व्यावहारिक इगो बनाउँदै व्यक्ति धुरी बनाएर तत्कालीन नेकपा पार्टीफुटको दोसाँधमा पुगेको थियो । हुँदै गर्दा यिनै अनावश्यक मतभेदको माझमा निर्वाचन आयोगले एमाले र माओवादीलाई ब्युँताइदियो ।
निर्वाचन आयोगको निर्णय चुनाव चिह्नमा परेको मुद्दाको फैसलामाथि आधारित थियो ।

हिजो दुई पार्टी एकीकृत हुनु राजनैतिक निर्णय थियो । निर्वाचन आयोगको चुनाव चिह्नसम्बन्धी निर्णयले राजनैतिक निर्णयलाई असर गर्न सक्दैनथ्यो र सकेन पनि । २०७५ जेठमा पार्टीएकताको निर्णय ऐतिहासिक थियो । त्यसको रक्षा र नेकपाको निरन्तरता आजको नेकपा (एमाले) हो । हामीले २०६६ सालमा मसाल र माओवादीसँग पार्टीएकता गर्दा केही समयसम्म मसालका साथीहरूले चौतर्फी आलोचना गर्नुभयो । जुन जुन कामरेडले सबभन्दा बढी आलोचना गर्नुभयो, उहाँहरू आज त्यो मसाल पार्टीमा हुनुहुन्न । मसाल छोडेर कोही बाहिर स्वतन्त्र हुनुहुन्छ । कोही साथीहरू अन्य पार्टीमा प्रवेश गर्नुभएको छ । यो उहाँहरूको व्यक्तिगत निर्णय हो । कुन पार्टीमा बस्ने ? कुनमा नबस्ने ? यसमा त्यति चिन्ता लिनुपर्दैन जस्तो लाग्छ ।

हिजो एउटा समय थियो, कुनै एक जना साथीले पार्टी छोड्दा सर्वस्व हराए जस्तो अर्थात् सर्वस्व गुमेको महसुस हुन्थ्यो । इतिहास हेर्दा २०४० सालतिर का. मोहनविक्रम सिंह, का. मोहन बैद्ध, का. प्रचण्ड, का. बाबुराम भट्टराई, का. रामबहादुर थापा बादल हामी सबै सँगै थियौँ । आज को कता हुनुहुन्छ ? त्यसकारण बाटो बिरिएको छैन । कम्युनिस्ट पार्टीहरूको केन्द्र अथवा कम्युनिस्टको मूल प्रवाह नै नेकपा (एमाले) हो ।

२००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टी विभिन्न अप्ठ्यारा, असजिला पार गर्दै २०२८ सालमा मुख्यतः दुई धारमा विभाजित भयो । न्युक्लसको नेतृत्व मोहनजीले गर्नुभयो भने कोअर्डिनेसनको नेतृत्व मनमोहन अधिकारीसहितका कामरेडहरूले गर्नुभयो । न्युक्लस चौथो महाधिवेशन, पातलो मसाल हुँदै एउटा धार मसाल र पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको अर्को धार मोटो मशाल हुँदै माओवादी भयो । अर्कोतिर, कोअर्डिनेसन केन्द्र माले, माक्र्सवादी मिलेर नेपाल कम्युनिस्ट पार्टी (एमाले) भयो ।

२०२८ सालमा दुई धार भएको नेकपा २०७५ साल जेठमा आएर करिब साढे चार दशक लामो भिन्न भिन्न अनुभव (मूलतः जनयुद्ध र जनआन्दोलन) लाई संश्लेषण गरेर फेरि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भयो । नेपालको कम्युनिस्ट आन्दोलन एउटा अचम्मको टेढोमेडो यात्रामा हिँडिरहेको छ । दुई फरक धारमा रहेको अर्थात् दुई खोलाको किनार जस्तो तत्कालीन एमाले र माओवादीमाझ पार्टीएकता त परै जाओस्, कार्यगत एकतासम्म हुने कल्पना कसैले गरेको थिएन । तर परिस्थितिजन्य चाहनास्वरूप दुई पार्टी मिली पार्टीएकता गर्ने स्थिति देखा प¥यो । नेपाली जनताको त्यो मनोभावना, जनस्प्रिटलाई समातेर गणतन्त्र स्थापना भयो । संविधान सभापछिको प्रथम आम निर्वाचनमा त्यो जनभावनाअनुसार दुई पार्टी तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर गए । नतिजा राम्रो आयो । आज हामीहरू बिग्रिएका छौँ । भोलि फेरि यसमा सुधार आउन सक्छ । हामी फेरि सच्चिएर आउन असम्भव जस्तो मलाई लागेको छैन ।


जनताले दिएको मत वा जनताले गरेको विश्वासमा हामी कति खरो उत्रियौँ या उत्रिएनौँ ? फेरि जनतामा गएर, परीक्षा दिएर परिणाम लिएर आएपछि बल्ल हामी पुनर्विचार गरेर बाटो निर्धारण गर्ने छौँ ।केही कामरेडहरूले सामाजिक सञ्जालमार्फत् वा विभिन्न सन्दर्भमा मसित सम्बन्धित रहेर केही गुनासा राखेको देखेँ । उहाँहरूले मेरा विषयमा अब राप्रपामा जाने, काङ्ग्रेसमा जाने, निष्क्रिय भएर बस्ने, बुढेसकालमा एमालेमा के खान होला ? तीन करोड रुपियाँमा एमालेले किनेको इत्यादि आरोप लगाउनुभएको छ ।

सर्वप्रथम त म म प्रति चिन्ता गरेर सुझाव, आलोचना जे जे सोचेर जे जे भनेको, लेखेको भएता पनि उहाँहरूलाई धन्यवाद दिन चाहान्छु । यी आलोचना, सुझावबाट मलाई सक्रिय भएर फेरि जनताको माझमा जान प्रेरणा मिलेको छ । यी आलोचना, सुझावले नकारात्मक रूपमा भए पनि मेरो राजनीतिक जीवनयात्राको पक्षमा मदत पुगेको मैले महसुस गरेको छु ।


आजको मितिसम्म मैले सामाजिक र राजनैतिक रूपमा जनताको सेवा गरेको छु । कुनै लाभको पदमा गएको छैन । मेरो जिन्दगी खुला किताब हो । तर जुन जुन साथीहरूले एमालेबाट विचलित भएर राप्रपा, काङ्ग्रेसतिर जान्छन् भनेर आशङ्का गर्नुभएको छ; केही साथीहरूले समय मिटान गर्नुभएको छ; केही साथीहरूले समय किटान त गर्न सक्दिनँ भनेर जुन दिनको प्रतिक्षा गर्नुभएको छ, त्यो दिन आउँदैन; प्रतिक्षा नगर्नुस् । मेरो यात्रा राइट अथवा पश्चगमन होइन, लेफ्ट अथवा अग्रगमन हो ।

707 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal