प्रधानमन्त्री देउवाको गृहजिल्लामा निर्वाचन नजिकिंदै गर्दा गठबन्धनमा अन्योलता

२०७८ चैत्र २८ गते, सोमबार

डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा स्थानीय तहको निर्वाचन नजिकिँंदै जाँदा गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा अन्योलता बढेको छ ।

केन्द्रबाट निर्णय नआएको भन्दै अन्योलमा रहेका दलहरुले आ–आफ्नो तरिकाले चुनावको तयारी भने थालिरहेका छन् ।

डडेलधुराका राजनीतिक दलहरुमा स्थानीय निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने विषयमा अन्योलता रहेको छ । सत्तारुढ पाँच दलका स्थानीय निकायहरुले गठबन्धनको स्वागत गरेपनि केन्द्रबाट कुनै ठोस प्रक्रियामा नगएका कारण गठबन्धन स्वीकार्न पनि सकिने र एक्लाएक्लै पनि निर्वाचनमा जाने आन्तरिक तयारी थाले पनि गठबन्धनको गाँठो नबाँधिएसम्मका लागि केही भन्न नसकिने अवस्था देखिएको छ ।

स्थानीय तहको निर्वाचनमा केन्द्रको परिपत्र अनुसार आन्तरिक छलफल भई ठोस निर्णय नभएको तर डडेलधुरामा गठबन्धन आवश्यक नभएपनि आवश्यकता अनुसार जाने नेपाली काँग्रेस डडेल्धुराका सचिव शेर बहादुर भण्डारीले जानकारी दिनुभएको छ ।

दुईपटक प्रतिनिधिसभा विघटनपछि विशिष्ट अवस्थामा निर्माण भएको सरकारको जग नै गठबन्धनको स्वरुप भएको भएपनि एक्लै पनि चुनावमा जान आफूहरु तयार रहेको नेपाल कम्युनिष्ट पार्टी समाजवादीका केन्द्रीय सदस्य डा. तारा प्रसाद जोशीले जानकारी दिनुभएको छ । त्यस्तै, केन्द्रमा सत्तासीन पार्टीका कार्यकर्ताले पनि गठबन्धनको स्वागत गरेको जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष लक्ष्मी दत्त पनेरुले जानकारी दिनुभएको छ ।

जिल्लाको कुल जनसंख्या ९० हजार १ सय १९ मतदाता रहेको छ । यसअघिको निर्वाचनमा चार वटा स्थानिय तहमा नेपाली कांग्रेस नेकपा माओवादी केन्द्र र दुई स्थानमा नेकपा एमालेले जित हासिल गरेका थिए ।

सात पालिका र ५२ वडा रहेको डडेलधुरा जिल्लामा स्थानीय निर्वाचनका लागि राष्ट्रिय दलसहित १२ दलले निर्वाचन प्रयोजनका लागि राजनितिक दलले विवरण बुझाई निर्वाचनमा सहभागिता जनाउने गरि तयारी गरिरहेका छन ।

285 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal