आज नेपाल कम्युनिष्ट पार्टीको ७४ औँ स्थापना दिवस

२०७९ बैशाख ९ गते, शुक्रबार

काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ७४ औँ स्थापना दिवस। देशभर विभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाइँदै छ।

दिवसको अवसरमा नेकपा एमालेले पार्टी कार्यालयमा कार्यक्रमको आयोजना गरेको छ। कम्युनिष्ट योद्धा सम्मान, पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा सार्ने लगायत कार्यक्रम गरेर एमालेले दिवस मनाउँदैछ। कम्युनिष्ट पार्टी स्थापना दिवसकै अवसर पारेर एमालेले आजै स्थानीय तह निर्वाचन प्रतिबद्धता पत्र सार्वजनिक पनि गर्दैछ।

नेकपा माओवादी केन्द्र लगायतका साना पार्टीले पनि विभिन्न कार्यक्रम आयोजना गरेका छन्।

२००६ साल वैशाख ९ गते अर्थात् आजकै दिन भारतको कोलकातामा पुष्पलाल श्रेष्ठ, निरन्जन गोविन्द बैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी श्रेष्ठको पहलमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको हो।

कोलकाताको एउटा कोठाबाट सुरु भएको नेपालको कम्युनिष्ट पार्टी ७४ वर्षमा आइपुग्दा देशको सबैभन्दा ठूलो शक्ति बनेको छ। ​देशभित्र टुटफुट विभाजन पार गर्दै देशकै सबैभन्दा ठूलो र संसद्‍मा करिब दुई तिहाईको अवस्थामा पुगेको कम्युनिष्ट पार्टी फेरि विभाजन भएको छ।

यद्यपि कम्युनिष्ट पार्टी विभाजन भएपनि नेकपा एमाले नै देशको पहिलो र शक्तिशाली शक्तिका रुपमा कायम छ।

पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल बाहिरिएपछि एमालेको झन् बलियो र शक्तिशाली रहेको एमालेका नेताहरु दाबी गर्छन्। अहिले नेपालमा करिब एक दर्जन कम्युनिष्ट पार्टी छन्।

139 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal