सुरक्षाकर्मीको टोली जहाज दुर्घटनास्थलमा

२०७९ जेष्ठ १६ गते, सोमबार

म्याग्दी । तारा एयरको जहाज दुर्घटना भएको स्थानमा सुरक्षाकर्मीको टोली पुगेको छ ।

चालक दलका तीन जनासहित २२ जना सवार जहाज आज बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानोसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । आइतबार बिहानदेखि सम्पर्कविहीन जहाज क्षतविक्षत अवस्थामा आज बिहान गोठाला र स्थानीयवासीको टोलीले भेटाएका हुन् ।

कोवाङबाट हेलिकप्टरबाट गएका नेपाली सेनासहित सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र शेर्पाको टोली घटनास्थल पुगेको जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले जानकारी दिए। ‘पैदलमार्गबाट गएका करिब १०० को सङ्ख्यामा रहेका सुरक्षाकर्मीको टोली पनि घटनास्थल नजिकै पुगेको छ’, उनले भने, ‘पहिलो चरणमा घटनास्थलको सुरक्षा, यात्रुको खोजी र पहिचानमा जुटेका छन् ।’

यात्रुको अवस्था पहिचान, सुरक्षित रहेका सामान सङ्कलन र मुचुल्का तयार पारेपछि हेलिकप्टरबाट कोवाङ ल्याउने योजना बनाइएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले सेना सहित , फिस्टेल र कैलाश एयरको एक-एक हेलिकप्टर उद्धारमा परिचालन गरिएको बताए ।

मौसम खुलेको अवस्थामा एक हेलिकप्टरले उडान गरेर उद्धारकर्तालाई घटनास्थलमा छोडेर नाउरीकोट आएको छ । कुहिरो हट्ने बित्तिकै हेलिकप्टरबाट थप उद्धारकर्ता पठाउने तयारी गरिएको छ ।

थासाङ गाउँपालिकाको केन्द्र कोवाङदेखि न्याउरीकोट हुँदै करिब चार घण्टा हिँडेपछि पुगिने मानापाथी हिमालको फेदीमा रहेको पहाडमा जहाज ठोक्किएर टुक्राटुक्रा परेको अवस्थामा भेटिएको छ । कुहिरो लागेको र प्रतिकुल मौसमका कारण आइतबार दिनभर जहाज खोज्ने प्रयास सफल भएको थिएन।

यार्सागुम्बा सङ्कलन गर्न गएका र गोठालाले नजिकैबाट उडेको जहाज पहाडमा ठोक्किएको आवाज सुनेको खबर गरेका थिए । काठमाडौँबाट सेनाका उद्धारकर्ता आवश्यक सामग्रीसहित हेलिकप्टरबाट आइतबार नै मुस्ताङ पुगेका थिए ।

पोखराबाट बिहान ९ : ५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी विमान बिहान १० : ०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्कविच्छेद भएको थियो । स्थानीयका अनुसार कोवाङमाथिको आकाशबाट जहाज जोमसोम नगई पोखरा जान धौलागिरि र मानापाथी हिमालतर्फ मोडिएको जनाइएको छ ।

जहाजमा चालक दलका तीन र १९ जना यात्रु थिए । तारा एयरका अनुसार १२ नेपाली, चार भारतीय र दुई जर्मनी नागरिक थिए ।

187 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal