गुराँसको कार्यपालिकाले पायो पूर्णता, एमालेको दुई तिहाईभन्दा धेरै बहुमत

२०७९ जेष्ठ २० गते, शुक्रबार

दैलेख । गाउँ कार्यपालिकाले पूर्णता पाएको छ । निर्वाचन अधिकृतको कार्यालय गुराँसकाअनुसार मतदानको माध्यमबाट १६ सदस्यीय कार्यपालिकाले पूर्णता पाएको हो । यसअघि गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा ८ जना वडाअध्यक्ष निर्वाचित भइसकेकोमा थप ६ जना नयाँ सदस्य चयन भएका निर्वाचन अधिकृत वन्दनाकुमारी केसीले जानकारी दिनुभयो ।

स्थानीय तह प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरू स्वत: कार्यपालिका सदस्य हुने व्यवस्था छ । गुराँसको कार्यपालिकामा निर्वाचित वडा सदस्यहरू मध्येबाट सम्झनाकुमारी बुढा, भुमिसरा ओली, विर्मा वि. क. र अमृता वि.सी. तथा दलिततर्फबाट कुलवीर वि. क. र पम्फा वि. क. निर्वाचित हुनुभएको छ ।

निर्वाचित कार्यपालिका सदस्य सबै नेकपा (एमाले) बाट उम्मेदवार बनेका थिए । एमाले र नेपाली काँग्रेसबाट कार्यपालिकामा उम्मेदवार बनेकोमा सबै एमालेका उम्मेदवारले ३० मत र काँग्रेसका उम्मेदवारले १२ मत प्राप्त गरेका छन् ।

यसैबीच, निर्वाचित कार्यपालिका सदस्यहरूलाई एक कार्यक्रमका बीच शपथ ग्रहण तथा प्रमाणपत्र वितरण गरिएको एमाले गुराँसका सचिव एवं गुराँस ८ का वडा अध्यक्ष दीपेन्द्र ओलीले जानकारी दिनुभयो ।

142 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal