‘सी’ डिभिजन लिग: झापा च्याम्पियन

२०७९ जेष्ठ २० गते, शुक्रबार

काठमाडौं । एक खेल अगावै ‘बी’ डिभिजन लिगमा बढुवा भएको मोफसलको झापा फुटबल क्लब सहिद स्मारक ‘सी’ डिभिजन लिगको च्याम्पियन बनेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको ‘सी’ डिभिजन लिगको अन्तिम राउन्डको खेलमा स्वयम्भु क्लबलाई ४–२ ले पराजित गर्दै झापा च्याम्पियन बन्दै बी डिभिजनमा बढुवा भएको हो ।

झापाको जितमा विशाल खवासले दुई तथा मनिष लिम्बु र पुजन राईले समान एक गोल गरे । स्वयम्भुका रोशन क्षेत्री र पाल्साङ लामाले गोल फर्काए ।

खेलको तेस्रो मिनेटमै विशाल खवासको गोलबाट झापाले सुरुवात अग्रता लिन सफल भयो । ३९औं मिनेटमा विशालले नै गोल गर्दै झापाको अग्रता दोब्बर पारे । ४८औं मिनेटमा मनिष लिम्बुले गोल गरेपछि झापा सहज जिततर्फ अग्रसर बन्यो । ५१औं मिनेटमा रोशन क्षेत्रीले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए ।

५५औं मिनेटमा पुजन राईले गोल गर्दै झापालाई ४–१ ले अघि बढाए । ६७औं मिनेटमा पाल्साङ लामाले गोल गर्दै खेललाई ४–२ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा झापा विजयी हुन सफल भयो ।

झापाले लिगको १३ खेलबाट ३४ अंक जोड्यो । दोस्रो हुँदै ‘बी’ डिभिजनमा बढुवा भएको प्लानिङ ब्वाइज युनाइटेड क्लबले ३१ तथा तेस्रो भएको आरसी ३२ फुटबल एकेडेमीले २९ अंक जोड्यो ।

लिगको अन्तिम राउन्डको अन्तिम म्याच डेबाट दोस्रो डिभिजनमा बढुवा हुने टोलीको टुंगो लागेको हो । प्लानिङ ब्वाइज र आरसी ३२ दोस्रो डिभिजनमा चढ्ने संघारमा रहँदा प्लानिङले सफलता हात पार्दा आरसी ३२ बराबरीमा रोकिदै सी डिभिजनमै कायम रह्यो ।

उपाधिसँगै झापाले १० लाख रुपैया हात पारेको छ । दोस्रो भएको प्लानिङले ७ लाख तथा तेस्रो भएको आरसी ३२ ले ४ लाख रुपैया हात पारेको छ ।

झापाका पारस कार्की प्लेयर अफ दि म्याच घोषित भए । उनले ५० हजार रुपैया हात पारे । महावीर क्लबले फेयर प्ले अवार्डसँगै ५० हजार रुपैया हात पारेको छ ।

प्लानिङका फागुराम थारु र सानेपाका खेम राज तामाङले समान १४ गोल गर्दै गोल्डेन बुट र ३५ हजार रुपैया बाँडेका छन् । प्लानिङका लोकेश चौधरी लिगको उत्कृष्ट गोलरक्षक घोषित भए । उनले ३५ हजार हात पारे ।

विजयी टोली तथा उत्कृष्ट खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद ९राखेप० का सदस्यसचिव टंकलाल घिसिङ, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कमाछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतले पुरस्कृत गरे ।

१४ टोलीले सी डिभिजन लिगमा प्रतिस्पर्धा गर्दा वीरगन्ज युथ एकेडेमी र ओसिस क्लब रेलिगेसनमा परेको छ ।

164 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal