नेपालले टस जितेर ब्याटिंग गर्दै, कुशल र आसिफ टिममा फर्किए

२०७९ जेष्ठ २८ गते, शनिबार

काठमाण्डौ । नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा अमेरिकाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । ह्युस्टनस्थित मूसा क्रिकेट स्टेडियममा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले आजको खेलमा तीन परिवर्तन गरेको छ । विकेटकिपर विनोद भण्डारी, सुवास खकुरेल र सुनिल धमला बेन्चमा रहेका छन् । नेपालका पहिलो रोजाईका आसिफ शेख, कुशल भुर्तेल र आदिल अन्सारीलाई मौका दिएका छन् । आदिल अन्सारीको यो ओडिआईमा डेब्यू खेल हो । टि २० आईमा विष्फोटक क्षमता राख्ने आदिललाई नेपालले फिनिसरमा खेलाउने छ ।

यस त्रिकोणात्मक सिरिजमा नेपाल पहिलो र अमेरिका लगातार दोस्रो जितको सोचमा छ । अमेरिकाले ओमानलाई ३ सय २३ रन प्रहार गर्दै १ सय १४ रनको सानदार जित हात पारेको थियो । त्यसैले अमेरिकाको मनोबल उच्च छ । ओमानले प्रस्तुत गरेको २ सय १२ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा नेपाल १ सय ९८ रनमा अल आउट भएको थियो ।

हेड टु हेड:
नेपाल र अमेरिकाबीच चार ओडिआई खेल भएको छ । नेपाल तीन र अमेरिका एक खेलमा विजयी भएका छन् । दुई वर्षअघि घरेलु मैदानमा नेपालले अमेरिकालाई ३५ रनमा अल आउट गरेको थियो । अमेरिका घरेलु मैदानमा त्यसको बदला लिन चाहन्छ ।

नेपालको प्लेइङ ११:

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल (उपकप्तान), आरिफ शेख, आदिल अन्सारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने (कप्तान) र सुशान भारी ।

212 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal