नेपाल लगातार तेस्रो जीत निकाल्दै सेमिफाइनलमा, बहराइन ८ विकेटले पराजीत

२०७९ असार ६ गते, सोमबार

काठमाडौं । नेपालले एसिसी महिला टि २० च्याम्पियनसिपमा लगातार तेस्रो जितका साथ एक खेल अगावै सेमिफाइनलमा पुगेको छ । नेपालले बहराइनलाई ८ विकेटले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

जितको लागि १५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले ३.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । नेपालकी सीता रानामगरले ३ बलमा १ चौकासहित सर्वाधिक ४ रन बनाइन् । ओपनर इन्दु बर्मा रोयल डक आउट भइन् । रुविना क्षेत्रीले ८ बल खेल्दा खाता खोल्न सकिनन् । कविता जोशीले १० बलमा ३ रनमा अविजित रहिन् । नेपालले ८ रन अतिरिक्त पायो ।

त्यसअघि किनरारा एकेडेमी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइनले निर्धारित ७ ओभरमा ६ विकेट गुमाउँदै १४ रन बनायो । बहराइनको ईशारा सुहुनले सर्वाधिक ६ रन बनाइन् । खेल निर्धारित समय अनुसार बिहान ८: १५ मा सुरु हुनुपर्ने थियो । वर्षाको कारण समयमै सुरु हुन नसक्दा खेल ७-७ ओभरको मात्र हुने भएको हो ।

नेपालकी अस्मिना कमाचार्यले २ ओभरमा ३ रन खर्चेर १ विकेट लिइन् । कविता कुँवरले २ ओभरमा २ रन खर्चेर २ विकेट लिइन् । सबनम राईले २ ओभरमा ३ रन खर्चेर २ विकेट लिइन् ।

नेपालले पहिलो खेलमा भुटानलाई ५० रन र दोस्रो खेलमा कुवेतलाई २५ रनले हराएको थियो । नेपाल समूह ‘बी’ मा ३ खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ । नेपाल शीर्ष दुईमा रहँदै समूह बी बाट सेमिफाइनलमा पुग्ने पक्का भएको हो । नेपालले मंगलबार हङकङसँग खेल्नेछ । समूह ‘बी’ मा अव हङकङ र कुवेत मध्य एक टोली सेमिफाइनलमा भिड्नेछन् । हङकङले नेपाल र कुवेतसँग खेल्न बाँकी छ ।

समूह ‘बी’ मा नेपाल, हङकङ, कुवेत, भुटान र बहराइन छन् । समूह ए मा युएई, मलेसिया, ओमान, कतार र सिंगापुर छन् । फाइनल पुग्ने दुई टोली एसिया कप महिला टि २० क्रिकेट प्रतियोगिता खेल्न पाउने छन् । जहाँ भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका हुनेछन् । नेपाल पनि प्रतियोगितामा उपाधिको प्रमुख दाबेदार टोली हो ।

अंक तालिका:

नेपाल समूह ‘बी’ मा ३ खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ । हङकङ २ खेलमा ४ अंकका साथ नेटरनरेटका कारण दोस्रो स्थानमा छ । कुवेत २ खेलमा १ अंकका साथ तेस्रो स्थानमा छ । बहरानइ ३ खेलमा १ अंकका साथ चौथो र भुटान अंक बिहीन हुँदै पुछारमा छ ।

समूह ‘बी’ मा मलेसिया २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । युएई ४ खेलमा ३ अंकका साथ दोस्रो स्थानमा छ । कतार २ अंकका साथ तेस्रो, ओमान १ अंकका साथ चौथो र सिंगापुर अंक बिहीन हुँदै पुछारमा छन् ।

170 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal