मुम्बई र बेंगलोरको हारको प्रतीक्षामा राजस्थान
एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को अन्तिम प्लेअफमा स्थान बनाउन तीन टोलीबीच प्रतिस्पर्धाछ । आज आइपिएलका लिगका अन्तिम दुई खेल हुँदैछन् । जसबाट अन्तिम चारमा पर्ने एक टोलीको टुङ्गो लाग्नेछ ।
गुजरात टाइटन्स शीर्ष र चेन्नई सुपर किंग्स दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्ने पक्का भएको छ । उता लखनऊ सुपर जायन्ट्सले तेस्रो स्थानमा अन्त्य गरेको छ । चौथो स्थानमा रहँदै प्लेअफ खेल्न राजस्थान रोयल्स, रोयल च्यालेन्जर्स बेंगलोर र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । अन्तिम चारमा स्थान बनाउने टोलीले एलिमिनेटरमा लखनऊसँग खेल्नेछ ।
मुम्बईले आज पहिलो खेलमा सनराइजर्स हैदराबादसँग घरेलु मैदान वानखडे रंगाशालामा खेल्नेछ । मुम्बई १३ खेलमा ७ मा जित र ६ मा हारका साथ १४ अंक जोड्दै छैटौं स्थानमा छ । मुम्बई आजको खेलमा विजयी हुँदा १६ अंकमा पुग्नेछ । तर उता आजनै १४ अंक भएको रोयल च्यालेन्जर्स बेंगलोरले गुजरात टाइटन्ससँग खेल्दैछ । गुजरात र बेंगलोरबीचको खेल साँझ बेंगलोरको घरेलु मैदानमा हुनेछ ।
बेंगलोर १३ खेलमा ७ मा जित र ६ मा हारका साथ १४ अंकका साथ चौथो स्थानमा छ । मुम्बई आजको खेलमा पराजित भएको खण्डमा प्लेअफ दौडबाट बाहिरिने पक्का छ । किनभने मुम्बईको भन्दा राजस्थानको नेटरनरेट राम्रो छ । मुम्बईको नेटरनरेट माइनस ०।१२८ छ । राजस्थान १४ खेलमा ७ मा जित र ७ मा हारका साथ १४ अंक जोड्दै पाँचौं स्थानमा छ । राजस्थानको नेटरनरेट प्लस ०।१४८ छ ।
बेंगलोरको नेटरनरेट प्लस ०.१८० छ । बेंगलोर र मुम्बई आजको दुबै खेलमा पराजित हुँदा राजस्थान अन्तिम चारमा रहँदै प्लेअफ खेल्ने उच्च सम्भावना रहन्छ । मुम्बई र बेंगलोर पराजित हुँदा तीनै टोलीको समान १४ अंक हुन्छ । मुम्बईको पहिला नै नेटरनरेट माइनस हुँदा स्वत बाहिरिनेछ । जसमा बेंगलोर र राजस्थानमा नेटरनरेटमा माथि रहने टोली प्लेअफमा जानेछ ।
बेंगलोर पराजित हुँदा नेटरनरेट पनि घट्नेछ । त्यसैले राजस्थान बेंगलोर र मुम्बईको हार चाहन्छ । बेंगलोरको फराकिलो हारको प्रतीक्षामा हुनेछ ।
गुजरात १३ खेलमा ९ मा जित र ४ मा हारसहित १८ अंकका साथ शीर्ष स्थानमा छ । चेन्नई १४ खेलमा ८ मा जित र ५ मा हारसहित १७ अंकका साथ दोस्रो स्थानमाछ । समान खेल र नतिजाका साथ १७ अंक भएपनि लखनऊ नेटरनरेटको कारण तेस्रो स्थानमा छ ।
कोलकाता १४ खेलमा ६ मा जित र ८ मा हारसहित १२ अंकका साथ सातौं स्थानमा रहेर बाहिरियो । पन्जाब किंग्स १४ खेलमा ६ मा जित र ८ मा हारसहित १२ अंकका साथ आठौं स्थानमा रहेर बाहिरियो । दिल्ली १४ खेलमा ५ मा जित र ९ मा हारका साथ नवौं स्थानमा रहेर बाहिरियो । हैदराबाद १३ खेलमा ४ मा जित र ९ मा हारका साथ ८ अंकका साथ पुछारमा रहेर बाहिरियो ।
पहिलो क्वालिफायर चेन्नई र गुजरातबीच बुधबार प्रतिस्पर्धा हुनेछ । उक्त खेलको विजेता टोली फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले दोस्रो क्वालिफायर खेल्नेछ । एलिमिनेटर खेल बिहीबार हुनेछ । एलिमिनेटरको विजेताले पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग दोस्रो क्वालिफायर खेल्नेछ।
दोस्रो क्वालिफायर शुक्रबार र फाइनल आइतबार हुनेछ । पहिलो क्वालिफायर र एलिमिनेटर चेन्नईमा हुनेछ । दोस्रो क्वालिफायर र फाइनल नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा हुनेछ ।