सहकारीको करोडौं रुपियाँ तिर्न नसकेपछि ढोरपाटनका मेयर नेपाली फरार

२०८० जेष्ठ ८ गते, सोमबार

काठमाडौँ । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली तीन दिनदेखि सम्पर्कविहीन भएका छन् । इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्षसमेत रहेका नेपाली सहकारीको करोडौं रुपियाँ तिर्न नसकेपछि सम्पर्कविहीन भएका हुन् ।

कुनै बेला घरको छतमा हेलिकोप्टर रोक्ने, निकै तामझामका नेताहरूलाई आफ्नो प्रभावमा पारेका नेपालीले सहकारी संस्थाको रकम हिनामिना गरेको सेयर सदस्यहरूको आरोप छ । ‘जिल्ला प्रशासन कार्यालयमा इमेज सहकारीका सेयर सदस्यहरूले मेयर भागेको भन्दै निवेदन लिएर आएपछि हामीले सम्पर्क गर्न खोज्यौं । तर, उहाँ सम्पर्कविहीन हुनुहुन्छ’ –बागलुङकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले भन्नुभयो ।

श्रेष्ठका अनुसार ४ दिन अगाडि इलाका प्रहरी कार्यालय बुर्तिबाङमा आर्थिक समस्या भएका कारणले निरन्तर रूपमा मानसिक तनाव आएको भन्दै मेयर नेपालीले पत्र दिएका थिए । पत्रमा मानसिक तनावका कारण केही समय स्वास्थ्य उपचार गर्न बाहिर जानुपर्ने भन्दै उनले आफ्नो सम्पत्तिको रक्षा गर्न अनुरोध गरेको श्रेष्ठले बताउनुभयो । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

42 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal