नेपालले आज बंगलादेशसँग खेल्दै

२०८० जेष्ठ ९ गते, मंगलवार

काठमाडौं । एनएससी–काभा महिला भलिबल च्यालेन्ज कप २०२३ अन्तरगत घरेलु टोली नेपालले आज (मंगलबार) आफ्नो दोस्रो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र बंगलादेशबीचको खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा दिउँसो ३ बजेपछि हुने छ ।पहिलो खेलमा किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरिसकेको नेपाल बंगलादेशलाई पराजित गरी भारतसँग खेल्नुअघि नै समूह ‘ए’ बाट सेमिफाइनलमा पुग्न चहान्छ ।

तुलनात्मक रुपमा कमजोर टोली बंगलादेशविरुद्ध मुख्य प्रशिक्षक जान डे ब्रान्टले नयाँ खेलाडीलाई डेब्यु दिने सम्भावना छ । प्रशिक्षक ब्रान्टले किर्गिस्तानविरुद्धको खेलमा मिडल ब्लकर संगम महतो र अपोजित हिटर रिमा कुँवरलाई डेब्यु गराएको थियो । अब मिडल ब्लकर कविता भट्ट, सेटर प्रगति नाथ, अपोजिट हिटर पुजा चौधरी र लिवेरो शान्तिकला तामाङले डेब्यु गर्न बाँकी छ ।

बंगलादेश पहिलो खेलमा भारतसँग पराजित भएको थियो । आज नै यस समूहमा भारत र कीर्गिस्तानबीच बिहान १० बजे प्रतिस्पर्धा हुनेछ ।

यस्तै समूह बी अन्तर्गत श्रीलंका र काजकस्तानबीचको खेल मध्यान्ह १२ः३० बजे हुनेछ । उज्वेकिस्तान र माल्दिभ्सबीचको खेल साँझ ६ः३० बजे हुनेछ ।

काजकस्तानले पहिलो खेलमा माल्दिभ्सलाई तथा उज्वेकिस्तानले श्रीलंकालाई पराजित गरेको छ । काजकस्तान र उज्वेकिस्तान विजयी भएमा समूह ‘बी’ बाट अन्तिम खेल अघि नै सेमिफाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ ।

48 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal