टिकटकमा भाइरल भिडिओका कारण नर्सहरू आन्दोलनमा: के हो विवादको विषय ?

काठमाडौं । सामाजिक सञ्जालमा अहिले टिकटकर गिभिना मगर र नर्सहरू बीचको विवाद भाइरल छ । विभिन्न अस्पतालमा कार्यरत नर्सहरू आन्दोलनमै उत्रिएका छन् ।
यो घटनाको वास्तविकता के हो त ? किन टिकटकर गिभिना र नर्सहरूबीचको विवाद अहिले चर्चामा छ ?
यो घटनाबारे बुझ्न हामी केही समयअघि जानुपर्ने हुन्छ, जब गिभिनाको भेट १६ वर्षीया अर्चना मगरसँग हुन्छ । गिभिना पेसाले एक शिक्षिका हुन् । तर उनी समाजसेवीको रूपमा सामाजिक सञ्जाल टिकटक तथा फेसबुकमा आफूले मानिसहरूलाई सहयोग गरेको भिडिओ राखिरहेकी हुन्छिन् ।
विशेषगरी टिकटक लाइभमा बसेर बेसहारा तथा बिरामी भएका बालबालिका तथा अन्य मानिसहरूका लागि उनी सहयोग जुटाउने काम गर्छिन् । उनको त्यही व्यवहार देखेर कसैले अर्चनाको भेट गिभिनासँग गराइदिएको हुन्छ ।
यता अर्चना क्यान्सर रोगसँग लडिरहेकी हुन्छिन् । अर्चनाले एक भिडिओमा भने अनुसार उनका बुबा उनी नौ वर्षकी हुँदा नै बितेका थिए । त्यसपछि उनकी आमाले अर्कै ठाउँमा बिहे गरेर गइन् र अर्चनालाई पनि आफूसँगै राखेर पालनपोषण गर्न थालिन् ।
तर, समय बित्दै जाँदा अर्चनालाई क्यान्सर भएको थाहा हुन्छ । गिभिनाको टिकटक अकाउन्टबाट अपलोड भएको एउटा भिडिओमा अर्चनाले भनेकी छिन्, ममीले मलाई हेरिराख्नु भएको थियो ।
सबै पैसा सकिएपछि केही पनि उपाय नभएर म तपाईंहरूको सामु हात जोड्न आएकी छु । केही उपाय नलागेपछि दिदीको अगाडि म सहयोग गरिदिनु भनेर आएकी थिएँ । गिभिना दिदी अहिले मेरो साथमा हुनुहुन्छ । र, मलाई एकदमै धेरै बाँच्न मन छ ।
गिभिनाले टिकटक भिडिओमा भने अनुसार उनी विभिन्न तरिकाले अर्चनाको उपचारका लागि सहयोग जुटाइएकी थिइन् । गिभिनाले राखेको एउटा भिडिओमा अर्चनाको उपचारका लागि उनले ११ लाख २० हजार रुपैयाँ हस्तान्तरण गरेको बताएकी छिन् ।
रकम संकलन गरेपछि अर्चनालाई चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ल्याइयो । त्यहाँ उनको उपचार भइरहेको थियो ।
यसैबीच २८ बैशाखमा गिभिनाको टिकटक अकाउन्टबाट (@givina18) बाट एउटा भिडिओ अपलोड भयो । उक्त भिडिओमा गिभिनाले भने अनुसार अर्चनालाई राति दुई बजे सुई लगाउने भनिएको थियो ।
तर साढे चार बजे मात्र सुई लगाइयो र यसरी ढिलो गर्दा बिरामीको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भन्दै गिभिनाले भिडिओमा बोलेको सुनिन्छ । उनको अकाउन्टमा अपलोड भएपछि उक्त भिडिओ भाइरल भयो ।
भिडिओ भाइरल भइसकेपछि सम्बन्धित नर्स र गिभिनाबीच विवाद सुरु हुन्छ । गिभिनाले एउटा टिकटक भिडिओमा भने अनुसार जेठ ४ गते करिब दुई बजे उनीहरू यही विवाद सुल्झाउन जिल्ला प्रहरी कार्यालय चितवन गए ।
तपाईंहरू यताउति मिलिसक्नु भएछ, माफी मागी पनि सक्नुभएछ सिद्धियो भनेर प्रहरीले छोड्दिनु भयो । सबै कुरा सिद्धि सकेको थियो । फोन गरेर घरिघरि टर्चर दिन पाइँदैन, आक्रोश पोख्दै गिभिनाले एक भिडिओमा भनेकी छिन् ।
यही कुरालाई समर्थन गर्दै आफूलाई सामाजिक अभियान्ता बताउने चितवन भरतपुरका एक युट्युबरले गिभिनाको लाइभ भिडिओमा भनेका छन्, उहाँ आफैंले माफी मागिसकेको विषय पनि हो । गल्ती भयो, म क्षमा याचना गर्छु भनेर जिल्ला प्रहरी कार्यालयमा मिलिसकेको कुरा हो यो । त्यसपछि आज यो विषय किन उठ्यो भनेर टिकटकमा लाइभ देखेर आएका हौं ।
विवाद मिलिसकेपछि सम्बन्धित नर्सको छोराले फोन गर्दै धम्की दिएको गिभिनाको आरोप छ ।
भन्छिन्, ती नर्सको छोराले धम्की दिए । पुरै नर्सको बेइज्जत भयो, तँलाईँ पख भनेर भने । त्यस्तो भन्न मिल्छ ? मैले सबै नर्सहरूलाई भनेको छैन, उनले अर्को भिडिओमा भनेकी छिन्, मैले बनाएको नर्सको भिडिओ भाइरल भएछ । अनि त्यही रिस छोपेर अर्चनालाई नराम्रो व्यवहार गर्ने ?
त्यस्तै अर्चनालाई पनि उक्त टिमले दुःख दिएको गिभिनाको आरोप । भन्छिन्, १६ वर्षको बच्चा बिरामी छ । उसलाई थाहा हुँदैन माया गरेको र नगरेको ।
यसरी धम्की आउनु र बिरामी बालिकालाई दुःख दिएको भन्दै गिभिना केही मानिसहरू लिएर अस्पताल पुगेर लाइभ गर्छिन् । त्यसपछि त्यहाँ चर्किएको विवाद टिकटकभर फैलिएको हो । विवाद चर्किरहँदा दुवै पक्षबीच भनाभन समेत भयो ।
भनाभनकै क्रममा गिभिनामाथि नर्सको हुलबाट अनेक आरोपको वर्षा हुन्छ । “बच्चालाई देखाएर पैसा उठाउने ?”
“तँलाई भिखारी ”
“मागी खाने भाँडो बनाएको छ बच्चालाई, आँसु देखाएर पैसा बटुल्न खोजेको हो ”
“विष्णु दिदीले कुनै हालतमा माफी माग्ने होइन है ”
“तिनीहरूले खुट्टा ढोगेर माफी माग्नु पर्छ ।”
यस्ता वाक्य सुनेपछि गिभिना लाइभ भिडिओमा त्यस्तो भन्न नहुने भन्दै आफ्ना समर्थकलाई उक्त अस्पताल आएर विरोध गर्न आग्रह गर्छिन् ।
उनको अकाउन्टबाट लाइभ भएको भिडिओमा उनले भनेकी छिन्, मैले यत्रो सहयोग जुटाएर अन्जान व्यक्तिलाई सहयोग गर्दा भिखारी भन्ने यिनीहरूको कत्रो आँट ? यत्रा मानिसहरूको बीचमा नर्स आएर तँ भिकारी भन्दा मन दुख्छ । यस्तो गर्न पाइँदैन ।
उनको सोही लाइभको स्क्रिनरेकर्डमा गिभिनाले भनेकी छन्, एक दुई पैसा म दिनरात नभनेर खटेर दाजुभाइ दिदीबहिनी विदेशमा रहनु भएका सबैलाई दुई हात जोडेर अर्चनालाई बचाउनु पर्यो भनेर सहयोग मागेर आज यही हस्पिटलमा ल्याउँदा तैले मागेर गरिस् भनेर यिनीहरूले भन्न पाइन्छ ?
उनले यस्ता भिडिओ राखेपछि उनको टिकटक अकाउन्टमाथि नै प्रतिबन्ध लागेको छ । गिभिनाले त्यसो गर्न नहुने भन्दै विभिन्न व्यक्तिले सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । नर्सहरू व्यक्तिमा भएको दोषलाई लिएर पेसालाई बदनाम गर्न नहुने भन्दै आन्दोलनमा उत्रिएका छन् । मिडियामा भाइरल हुन पेशामाथि दाग लाग्ने कुरा गर्न पाइँदैन । कार्य क्षेत्रमा सुरक्षाको प्रत्याभूति गराइयोस् । व्यक्ति गलत होला, सिङ्गो पेशा गलत छैन,
“कसैको चरित्र हत्या गर्न पाइँदैन ”
“नर्समाथिको अत्याचार बन्द गरौं ”
“व्यक्ति गलत होला, सिङ्गो पेसा गलत छैन ”
टिकटकरको कुरा सबैले सुन्ने, नर्सको कुरा कसले सुन्ने ?
यस्ता अनेकौं नारा सहितका पम्प्लेट बोकेर नर्सहरू आन्दोलनमा उत्रिएका हुन् ।