माओवादी नेता र सीपीसी विदेश विभाग प्रमुखबीच भेटवार्ता

२०८० जेष्ठ १२ गते, शुक्रबार

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ च्यान छाओबीच भेटवार्ता भएको छ ।

चीन भ्रमणमा रहेका सापकोटा नेतृत्वको माओवादी पार्टी प्रतिनिधिमण्डल र चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुख लिउ नेतृत्वको टोलीबीच बिहीबार चीनको राजधानी बेइजिङमा भेटवार्ता भएको हो । उनीहरूबीच सुरुमा एक्लाएक्लै र त्यसपछि समूहमा छलफल भएको छ ।

दुईपक्षीय छलफल दुई देश र दुई पार्टीको सम्बन्धका विषयमा केन्द्रित भएको बताइएको छ । भेटमा चिनियाँ विदेश विभाग प्रमुख लिउले प्रचण्ड नेतृत्वको वर्तमान सरकारले लिएको आर्थिक विकास र समृद्धिको लक्ष्यमा चीनले निरन्तर सहयोग गर्ने बताएको र जवाफमा उपाध्यक्ष सापकोटाले चीन नेपालको छिमेकीमात्र नभएर विकास साझेदार समेत भएको चर्चा गर्दै नेपालको आर्थिक सामाजिक विकासमा पुर्‍याएको सहयोगका लागि चीनलाई धन्यवाद दिएका थिए ।

29 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal