पाल्पामा टिपर दुर्घटना हुँदा एकको मृत्यु

२०८० कार्तिक २२ गते, बुधबार

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका ७ ज्यामिरेमा बुधबार भएको टिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका २ जल्पाकी १९ वर्षीया दिलकुमारी आले रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आलेले टिपरबाट हाम फाल्दा सोही टिपरको टायरेले किच्दा घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको छ। निस्दी गाउँपालिका ७ ज्यामिरे मोटेखर्कस्थित ज्यामिरेदेखि नवलपुर सर्दितर्फ जाँदै गरेको लु २ ख ५२९ नम्बरको टिपर ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते हुनेमा निस्दी गाउँपालिका ७ ज्यामिरे बस्ने २५ वर्षीया हिमाली आले, टिपर चालक मकवानपुर जिल्लाको मनहरी गाउँपालिका ९ बस्ने २६ वर्षीय अन्जन सुनार र सहचालक मकवानपुरको हेटौंडा ९ बस्ने आशिष सुनार रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरूको उपचारका लागि नवलपुर पठाइएको पाल्पाका प्रहरी प्रवक्ता सुगन्ध श्रेष्ठले जानकारी दिए। दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ ।

19 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal