अर्घाखाँची हुँदै बुटवलसम्मका लागि विद्युतीय गाडी सञ्चालन

२०८० पुष ७ गते, शनिबार

अर्घाखाँची । अर्घाखाँचीका विभिन्न गाउँबाट सदरमुकाम सन्धिखर्क हुँदै बुटवलसम्मका लागि विद्युतीय सवारी गाडी सञ्चालन भएका छन् । अर्घाभगवती यातायात प्रा.लिले शुक्रबारदेखि १५ वटा विद्युतीय गाडी सञ्चालन गरेको हो ।

सन्धिखर्क र सन्धिखर्क–गोरुसिंगे सडकखण्डको भेडामारेमा दुई ठाउँमा चार्जिङ स्टेसन राखिएको छ । सन्धिखर्कबाट बिहान बिभिन्न समय अन्तरालमा बुटवलका लागि छुट्ने अर्घाभगवती यातायातका अध्यक्ष पदम क्षेत्रीले बताए ।

हरेक दिन बिहान भूमिकास्थान नगरपालिकाको ढाकावाङ र असुरकोटबाट सन्धिखर्क हुँदै बुटवलसम्म र मालारानी गाउँपालिकाको खनदहबाट बिहान ७ बजेट गाडी छुट्ने व्यवस्था गरिएको उनले बताए ।

जिल्लामा पहिलो पटक सञ्चालन भएका ११ सिटर माइक्रो गाडीमा पहाडको प्रतिकिलोमिटर भाडादर ८ रुपैयाँ, सन्धिखर्क–गोरुसिंगे सडक खण्डअन्तर्गत सन्धिखर्क–पथ्थरकोटसम्म प्रतिकिलोमिटर ६ रुपैयाँ र तराईमा प्रतिकिलोमिटर ३ रुपैयाँ भाडा कायम गरिएको क्षेत्रीले बताए । यसरी सन्धिखर्क–बुटवलको एक यात्रुको भाडादर ४ सय ८० रुपैयाँ कायम हुन्छ ।

‘पहाडमा गाडी परीक्षण गरेर सफल भएपछि मात्रै सवारीका रूपमा सञ्चालन गरेका हौं,’ अध्यक्ष क्षेत्रीले भने, ‘गाउँका कच्चीबाट सबै ठाउँमा सहजै गाडी चल्यो । यात्रुलाई भाडा सस्तो र आरामदायी छ ।’ गाडीमा वाइफाई सुविधासहित सीसी क्यामरा जडान गरिएको छ ।

25 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal