‘बोर्डर २’ विवादमा
काठमाडौँ । सन्नी देओलको आगामी चलचित्र ‘बोर्डर २’ रिलिज हुनुअघि नै विवादमा परेको छ । यो फिल्म सन् १९९७ मा रिलिज भएको ‘बोर्डर’ को सिक्वेल हो ।
अहिले उक्त चलचित्रसँग आबद्ध चलचित्र फाइनान्सर तथा वितरक भरत शाहले ‘बोर्डर २’का निर्माताविरुद्ध सार्वजनिक सूचना जारी गरेका छन् । फिल्मको पहिलो भागलाई लिएर अदालतमा मुद्दा चलिरहेको छ ।
यस सूचनामार्फत वकिल अजय खतलावालाले लिटिल एण्ड कम्पनीका साझेदार भरत शाह र बीना भरत शाह फिल्म ‘बोर्डर’को वर्ल्ड राइट्सको नियन्त्रक रहेको बताएका छन् । उनीहरूले चलचित्रका निर्देशक तथा निर्माता जेपी दत्तसँग यो चलचित्रलाई आर्थिक सहयोग गर्ने सम्झौता गरेका थिए तर दुवै पक्षबिच मतभेद थियो ।
तर, यसअघि फिल्मले जति कमाइ गर्छ त्यो आधा बाँड्ने निर्णय भएको थियो । यति मात्र होइन, जेपी दत्तले फिल्ममा खर्च भएको रकमको जानकारी पनि भरत शाहलाई दिनुपर्ने थियो । उक्त नोटिसमा जेपी दत्तले भरत शाह र बिना भरत शाहलाई कहिले पनि कुनै जानकारी नदिएको र फिल्मको आर्थिक अवस्था र नाफाबारे पनि जानकारी नगरेको उल्लेख गरिएको छ ।