क्यानाडासंगको लज्जास्पद हारपछि नेपालले आज ओमानको सामना गर्दै

२०८१ आश्विन २ गते, बुधबार

काठमाडौं । आइसिसी विश्वकप लिग २ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले आज ओमानको सामना गर्दैछ ।

क्यानडाको किङ्ग सिटीमा हुने खेल नेपाली समय अनुसार बुधवार राति ८ः४५ बजे सुरु हुनेछ । यो संस्करणको लिग टुमा नेपाल र ओमान पहिलो पटक आमने सामने हुँदैछन् ।

अघिल्लो संस्करणमा ओमानले दोस्रो र नेपालले तेस्रो स्थानमा रहेर लिग टु सकाएका थिए । अघिल्लो संस्करणमा नेपाल र ओमान ६ खेलमा आमने सामने हुँदा ४ खेल ओमानले तथा २ खेल नेपालले जितेको थियो ।

यो संस्करणमा ४ खेल खेल्दा ओमान ३ अंकका साथ छैटौं स्थानमा तथा नेपाल ५ खेलबाट २ अंकका साथ सातौं स्थानमा छ । यस त्रिकोणात्मक सिरिजमा नेपाल र ओमानको साथै क्यानडाको पनि सहभागिता छ । त्रिकोणात्मक ओडिआई सिरिज असोज १० गते सम्म हुनेछ।

सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग १ सय ३ रनको फराकिलो अन्तरले पराजित भएको थियो । ओमानले भने यो सिरिजमा पहिलो खेल खेल्दैछ ।

नेपालले त्रिकोणात्मक ओडिआई सिरिजमा तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध खेल्नेछ ।

ओडिआई सिरिज सकिएको २ दिन पछि तीन टोलीबीचमा टि ट्वान्टी आई सिरिज हुनेछ । सिरिज असोज १२ देखि १७ गते सम्म हुनेछ ।

त्यसपछि लिग टुको अर्को त्रिकोणात्मक सिरिज खेल्न नेपाली‌ टोली अमेरिका जानेछ ।

12 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal