लुम्बिनी सरकारलाई सघाउन सभापति पुनको नेतृत्वमा निर्देशक समिति गठन
दाङ । लुम्बिनी प्रदेश सरकारलाई काममा सहयोग गर्न, सुझाव सल्लाह दिन र दुई दलको बीचमा साझा नीति तथा कार्यक्रम बनाउन कांग्रेसले राजनीति निर्देशक समिति बनाउने भएको छ ।
कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिको शुक्रबार देउखुरीमा बसेको बैठकले सभापति अमरसिंह पुनको नेतृत्वमा ५ जना समितिमा पठाउने निर्णय गरेको छ । अरु चार जनाको नाम पछि चयन हुनेछ ।
‘कांग्रेस–एमालेको गठबन्धन सरकार छ, यसलाई असफल हुने छुट छैन,’ सभापति पुनले भने, ‘काम गरेर देखाउनैपर्छ । त्यसको लागि सरकारको काममा सघाउन, गाईड गर्न, दुई दलको साझा नीति तथा कार्यक्रम बनाउन र जनतालाई प्रदेश सरकारको प्रत्याभूति दिलाउन निर्देशक समिति बनाउन लागेका हौं ।’
कांग्रेसको बैठकबाट निर्देशक समिति बनाउने निर्णय भएपछि एमालेसँग वार्ता, संवाद, छलफल गरेर समिति दुई दलको संयुक्त बनाइने उनले बताए । सरकारले रचनात्मक काम गरेर देखाउनको लागि निर्देशक समितिले सहयोग गर्ने उनले बताए । समितिमा संसदीय दलको नेतालाई अनिवार्य राखिएको छ भने अरु पार्टीका नेता मात्रै हुनेछन् ।
‘बैठकमा मन्त्रालयको संख्या बढाउने, राज्यमन्त्री थप्ने कुरा उठ्यो,’ उनले भने, ‘लुम्बिनीमा रहेका १२ वटा मन्त्रालयलाई भरसक मन्त्रालयको संख्या घटाउने, यदि सकिन्न भने हालकै जे छन् त्यसैलाई कायम राख्नुपर्छ । मन्त्रालयको संख्या बढाउने होइन, मन्त्रालयबाट हुने काम कारबाहीलाई चुस्तदुरुस्त बनाउने, परिणाम देखाउने गरी काम गर्नेमा पार्टीले पूर्ण सहयोग गर्ने एवं मन्त्रालयको संख्या बढाउन दिँदैनौं ।’ कांग्रेसको भागमा परेका मन्त्रालयलाई कांग्रेसकै मन्त्रीलाई जिम्मा दिन मुख्यमन्त्रीलाई आग्रह गरिने उनले बताए ।
त्यस्तै प्रदेशदेखि जिल्ला र स्थानीय तहसम्मका कामलाई प्रभावकारी बनाउने सहयोग गर्न, सत्ता सहकार्यलाई थप मजबुद बनाउँदै अगाडि लैजाने एमालेसँग वार्ता र संवाद गरेर संयुक्त रुपमा अगाडि बढेर जनताको अवस्था बदल्न पार्टीले भूमिका खेल्ने सभापति पुनले बताए । त्यसका लागि वडा तहसम्म कांग्रेसले संयन्त्र सम्पर्क समिति निर्माण गरिने निर्णय भएको उनले बताए ।
लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा पार्टी संगठनलाई मजबुद बनाउँदै संगठन विस्तार, चलायमान र विभिन्न कार्यक्रम गर्दै क्रियाशील सदस्यता वितरण र नवीकरण गर्ने निर्णय भएको कांग्रेस लुम्बिनी सहमहामन्त्री विष्णु मुस्कानले बताए ।