गौतमबुद्ध अन्तरास्ट्रिय क्रिकेट रंगशाला निर्माणको कामले तीव्रता लिदैं (फोटोसहित)
काठमाडौँ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको कामले गति लिन थालेको छ। तीन वर्षदेखि अलपत्र बनेको रंगशाला सरकारी तवरबाट निर्माण गर्न गत असार २४ गते सम्झौता भएको थियो।
सम्झौताअनुसार हिमालयन कालिन्चोक बिबिआर जेभीले अहिले रंगशालाको प्यारापिट र टावर निर्माणको काम गरिरहेको छ। दैनिक करिब एक सय जनाले काम गरिरहेको प्रोजेक्ट म्यानेजर विजय ढकालले बताए।
धुर्मुस-सुन्तली फाउन्डेसन ले कामबाट हात झिकेपछि सरकारी तवरबाट निर्माणको प्रकृया सुरू गर्न दुई वर्षभन्दा बढी समय लागेको हो। फाउन्डेसनका अध्यक्ष कट्टेलले रंगशाला निर्माणमा ५७ करोड ९२ लाख ८५ हजार ७३८ रूपैयाँ खर्च लागेको र १८ करोड ४३ लाख ४२४ रूपैयाँ उधारो तिर्न बाँकी रहेको प्रतिवेदन दिएका थिए। उधारो रकम तिर्ने विषयमा कानुनी जटिलता भएको भन्दै सरकारले स्वामित्व ग्रहण गर्न ढिलाइ गरेको थियो।
गत कात्तिक २३ गतेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय गौरवको योजनामा समेटेर तीन तहका सरकारले निर्माण सम्पन्न गर्ने निर्णय गरेपछि गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको बाटो खुलेको हो। सोही निर्णयलाई टेकेर भ्याट र पिएस बाहेक ६८ करोड २ लाख ६४ हजार २०७ रूपैयाँ ८४ पैसामा निर्माण गर्नेगरी हिमालयन कालिन्चोक बिबिआर जेभीसँग सम्झौता भएको थियो। उसले ३० महिनाभित्रमा यो बजेटबाट रंगशालाको मैदानसहित ५ वटा पिच, १५ हजार जना बस्न मिल्ने प्यारापिट, ड्रेन, २ वटा ३/३ तल्लाको भिआइपी टावर लगायतका संरचनाहरू निर्माण गर्नुपर्ने अर्यालले बताए। यहाँ ५ हजार जना अट्ने प्यारापिट धुर्मुस-सुन्तली फाउण्डेसनले नै बनाइसकेको छ।
निर्माण कम्पनीका साइट इन्जिनियर धर्मेन्द्र गुप्ताले तीन तल्लाको भिआइपी टावर र प्यारापिटका लागि जगको काम अहिले चलिरहेको बताए।
उनले पाँच वटा पिच सहितको मैदान निर्माणका लागि सफाइको काम चलिरहेको बताए। यो रंगशाला कुल ३० हजार दर्शक बस्न मिल्ने प्यारापिट सहितको बनाउन लागिएको थियो। पहिलो चरणमा १५ हजार जना बस्न मिल्ने प्यारापिट बनाएपछि दोस्रो चरणका लागि ठेक्का लगाउने तयारी छ। प्यारापिट निर्माणका लागि २८६ वटा पिल्लर उठाइएको छ।