हाम्रो विचारमा राजनीति भन्नु नै देशको सेवाको उच्चतम साधनः पूर्वराजा शाह

२०७७ पुष २६ गते, आईतवार

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय अखण्डताका निम्ति एकताको गाँठो बलियो बनाउनुपर्नेमा जोड दिएका छन् । २२९ औं पृथ्वी जयन्तीको पूर्वसन्ध्या शुभकामना सन्देश जारी गर्दै पूर्वराजाले यसको औचित्य हिजो, आज र भविष्यमा पनि रहने जनाएका हुन् ।

उनले राष्ट्रियता, राष्ट्रिय एकता, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्ने क्रममा देशको आवश्यकता र जनताको चाहना हुँदा शाहवंशीय राजाहरुले सक्रिय भूमिका मात्र निर्वाह नगरी संवैधानिक राजतन्त्रको मर्यादा अनुरुप व्यवहार भएको समेत प्रस्ट पारेका छन् । पूर्वराजा शाहले शाहवंशीय राजाहरुले राजगद्दी त्याग्ने सम्मको उच्च साहस र इमान्दारी दर्शाएको स्मरण गर्दै आफुहरुको निम्ति देश र जनताको हित नै सर्वोपरी रहँदै आएको बताएका छन् ।

शुभकामना सन्देशमा शाहले भनेका छन्ः ‘हाम्रो विचारमा राजनीति भन्नु नै देशको सेवाको उच्चतम साधन हो । तर हामीले व्यहोरेको राजनीति कति इमान्दार र राष्ट्र केन्द्रीत छ, कति जनहित अनुकूल छ, त्यसको समीक्षा हुन अब बिलम्ब भैसकेको छ ।’ उनले परिवर्तनका नाममा आफ्नो इतिहास, सभ्यता, धर्म, संस्कृति र एकता भत्काउँदै पराया ईच्छा पुरा गर्ने अवान्छित क्रियाकलाप भित्रिएको महसुस नेपालीहरुले गरिरहेको समेत बताएका छन् ।
पूर्वराजा शाहले बडामहाराजधिराज पृथ्वीनारायण शाहका पालामा परिकल्पनामा सिमित देशलाई आकारमा ल्याउन सानो चातुर्य, साहस र वीरताबाट सम्भव नभएको दाबी गर्दै अहिले त्यही देश कसरी जोगाउने भन्ने चिन्ताग्रस्त अवस्थामा आइपुगिएको दाबी गरेका छन् । उनले पृथ्वीनारायण शाहको २२९ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा समस्त नेपाली दिदी बहिनी तथा दाजु भाइहरुमा प्रेम, सदभाव र एकताका निम्ति शुभकामना व्यक्त गरेका छन् ।

180 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal