केपी ओली धूर्त र बेइमानः अध्यक्ष प्रचण्ड

२०७७ माघ १६ गते, शुक्रबार

विराटनगर । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओली धूर्त र बेइमान रहेको बताएका छन् ।
शुक्रबार मोरङको विराटनगरमा प्रतिनिधि सभा विघटनको विरोधमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओली बेइमान र धूर्त रहेको भन्दै उनका पछाडि सामन्तवादी र राजा महाराजा मात्रै लागेको बताए ।
केपी ओली बेइमान र धूर्त रहेछन् । उनका पछाडि हिजो गणतन्त्रका लागि लड्दा विपक्षमा रहेका राजा महाराजाहरु लागेका छन् । सामन्ती र दलाल पुँजीपतिहरु मात्रै लागेका छन्’, अध्यक्ष प्रचण्डको भनाई छ । अध्यक्ष प्रचण्डले देशलाई अध्याँरो सुरुङभित्र हाल्नमात्रै प्रतिनिधि सभा विघटन नगरेको भन्दै देश नै विघटन गर्ने योजनामा ओली लागेको बताए । उनले नेपाली जनता जागेको भन्दै ओलीको प्रतिगामी कदम अब धेरै दिन नटिक्ने घोषणा पनि गरे ।
प्रचण्डले नेकपा एकता घोषणा भएको तीन वर्ष नवित्दै आफैंले बनाएका प्रधानमन्त्रीविरुद्ध आन्दोलन गर्नुपरेको र त्यो नेपाली जनताको हितका लागि भएको पनि बताए । प्रचण्डले दुई पार्टी एकता गरेर आफुहरु समाजवादको आधार निर्माण गर्ने महान अभियानमा लागेपनि केपी ओली प्रतिगमनको गोटी बनेर संसद विघटन गर्नतिर लागेको बताए ।
नेकपाले गरेको संघर्ष कुनै प्रहसन देखाउन, कमेडी सुनाउन र उखान टुक्का भन्न नभएर देशमा उत्पन्न गम्भीर राजनीतिक संकट निवारणका लागि भएको प्रचण्डको भनाई थियो । जरुरी परे संसदको बैठक बसेर केपी ओली जस्ता अपराधीलाई कारवाही गर्न सकिने प्रचण्डको भनाई छ ।

243 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal