वन क्षेत्रमा जथाभावी डोजर चलेपछि रेडपाण्डा संकटमा

२०७८ बैशाख १२ गते, आईतवार

इलाम । इलामको उत्तर पूर्वी क्षेत्रमा रेडपाण्डा पाइने वन क्षेत्रमा जथाभावी डोजर प्रयोगले लोपोन्मुख वन्यजन्तुहरु संकटमा परेका छन् ।

वातावरणीय प्रभाव मूल्यांकन नगरी जथाभावी सडक खन्दा वन जंगल विनाश भएपछि नेपालमा रहेको रेडपाण्डा ट्रेल समेत प्रभावित भएको हो । विश्वमै दुर्लभ मानिएको रेडपाण्डा लगायतका वन्यजन्तुको बासस्थान मानिएको भारतसँग सीमा जोडिएको उत्तरी इलामका वन जंगल मासीने क्रम नरोकिए पछि रेडपाण्डा संकटमा पर्ने खतरा बढेको छ । स्थानीय तह समेतको अगुवाइमा वन्यजन्तुको वासस्थान रहेका घना वन क्षेत्रमा समेत डोजर लगाएर यतिबेला धुलीमैदान बनाइएपछि खतरा बढ्दै गएको हो ।सीमा पारी भारत तर्फ सीहलिला नेशनल पार्क रहेकाले सीमासम्म सडकको उपलव्धि देखिदैन ।

पर्यटन विकासको बहानामा जथाभावी सडक निर्माणले वन्यजन्तुको वासस्थान खण्डिकृत हुने र कतिपय लोपोन्मुख वन्यजन्तु, वनस्पति मासीने खतरा उत्पन्न भएको रेडपाण्डा नेटवर्कका कृष्ण कुमार राईको भनाई छ ।

वन ऐन र वातारण संरक्षण नियमावली अनुसार सामुदायिक वा राष्ट्रिय वन क्षेत्रभित्र जथाभावी अतिक्रमण र फँडानी गर्न पाइदैन । विकास निर्माणका लागि वातावरणीय प्रभाव मुल्याँकन र क्षतिको न्युनिकरणका लागि वातावरणीय व्यवस्थापन योजना वनाउनु पर्ने प्रावधान रहेको छ ।

प्रचलित ऐन नियमका साथै प्रदेश सरकारले बनाएका कानूनको पालना नगरी वन जंगलमा भएको विनाशले वन्यजन्तुका साथै पर्या पर्यटन समेत ओझेलमा पर्न थालेको छ ।

260 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal